प्रोभिजन बढाउँदा पनि एनआईसी एसिया बैंकको नाफा बढ्यो, लाभांश दिने क्षमता कति ?

प्रोभिजन बढाउँदा पनि एनआईसी एसिया बैंकको नाफा बढ्यो, लाभांश दिने क्षमता कति ?


बैकिङ्ग समाचार ।

एनआईसी एसिया बैंकले कोरोना कहरकाबीचमा पनि नाफा बढेको बित्तिय बिवरण सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष ७६/७७ मा ३.२५ प्रतिशतले नाफा बढेको विवरण प्रकाशित गरेको हो ।

आर्थिक वर्ष ७५/७६ मा बैंकले ३ अर्ब १२ करोड नाफा आर्जन गरेकोमा गत आर्थिक वर्षमा बैंकको नाफा बढेर ३ अर्ब २५ करोड पुगेको हो । बैंकले १ अर्ब १२ करोड प्रोभिजन गरेकोले नाफाको वृद्धि कम भएको जनाएको छ । बैंकले अघिल्लो वर्ष ५९ करोड ८९ लाख प्रोभिजन गरेकोमा गत वर्ष झन्डै दोब्बर रकम प्रोभिजन गरेको हो  ।  बैंकको खराब कर्जा ०.४६ प्रतिशतबटा बढेर ०.७५ प्रतिशत पुगेको छ । 

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४४ करोड रहेको छ । यस हिसाबमा बैंकले करिब १४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ  ।  तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ ।  

यद्यपि असोज मसान्त सम्म उठ्ने ब्याजलाई पनि अघिल्लो वर्षको ब्यालेन्स सिटमा देखाउन सकिने राष्ट्र बैंकको ब्यबस्थाको कारण बैंकको नाफा बढ्न गई वितरणयोग्य मुनाफा पनि केहि बढ्न सक्ने छ । 

यस अवधिमा बैंकको संचालनमुनाफा १.०२ प्रतिशतले घटेर ४ अर्ब ४६ करोड कायम भएको छ ।  त्यस्तै बैंकको निक्षेप १७.६२ प्रतिशतले बढेर २ खर्ब १ अर्ब पुगेको छ भने कर्जा प्रवाह १२.३५ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशतले बढेर ७ अर्ब ६० करोड पुगेको छ । ९ अर्ब ७१ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ७ अर्ब ५१ करोड रहेको छ ।

बैंकको प्रति शेयर आम्दानी ३२.१३, नेट वर्थ १७७.३६, मूल्य आम्दानी अनुपात १७.२२ गुणा,  बेस रेट ७.७ प्रतिशत, र स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ  ।