व्यवसाय खस्किँदा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, अन्य सूचक पनि कमजोर

व्यवसाय खस्किँदा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, अन्य सूचक पनि कमजोर


बैकिङ्ग समाचार । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष ०७६/०७७ नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ। वर्षभरी २३ अर्बले निक्षेप बढाएको बैंकको जम्मा ८२ करोडले मात्र कर्जा विस्तार हुँदा खुद ब्याज आम्दानी खस्केपछि नाफा घटेको हो ।  

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिको तुलनामा नाफा ४५ करोड रुपैयाँ कम हो। गत आवको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

नाफा घटेपछि बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७६ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २६.०५ गुणा कायम रहेको छ भने प्रतिशेयर नेटवर्थ १८८.५०  रुपैयाँ छ।

केन्द्रिय बैंकको निर्देशनअनुसार ब्याज छुट दिनु परेपछि बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा पनि खुम्चिएको छ। त्यस्तै, बैंकको खराब कर्जाको अनुपात पनि बढ्दो छ।

गत आर्थिक वर्ष बैंकले ३ अर्ब ५१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्ष यस्तो आम्दानी झण्डै ८६ लाख रुपैयाँले घटेको छ।

त्यसैगरी, सञ्चालन मुनाफा पनि ३ अर्ब ४७ करोड रुपैयाँबाट घटेर २ अर्ब ८४ करोड रुपैयाँमा झरेको छ।

बैंकको कर्मचारी खर्च झण्डै २ करोड रुपैयाँले बढेर १ अर्ब १० करोड रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन खर्च ५२ करोड ५६ लाख रुपैयाँबाट बढेर ५३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, इम्पेरिमेन्ट चार्ज ८ करोड ८२ लाख रुपैयाँबाट बढेर ४३ करोड ९० लाख रुपैयाँ पुगेको छ। एकातिर खर्च बढ्दै जाँदा बैंकको आम्दानी भने घटेकाले खुद नाफामा संकुचन आएको हो।

बैंकको निक्षेप संकलन ७५ अर्ब ७३ करोड रुपैयाँबाट बढेर ९८ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ५३ अर्ब ९ करोड रुपैयाँबाट बढेर ९३ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा ०.१५ प्रतिशतबाट बढेर ०.४४ प्रतिशत पुगेको छ। असार मसान्तसम्ममा बैंकको स्प्रड दर ३.३६ प्रतिशत रहेको छ भने आधार दर ७ प्रतिशत, सिसिडि रेशियो ६६।४३ प्रतिशत र कोषको लागत ४.८४ प्रतिशत रहेको छ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ५६ करोड रुपैयाँ रहेको छ।