माछापुच्छ्रे बैंक र इजी ट्याक्सीबीच विद्युतीय रुपमा भाडा भुक्तानी सम्झौता

माछापुच्छ्रे बैंक र इजी ट्याक्सीबीच विद्युतीय रुपमा भाडा भुक्तानी सम्झौता


बैकिङ्ग समाचार ।   

इजी एस्योरेन्स अन्तर्गतको इजी ट्याक्सीले माछापुच्छ्रे बैंकसंग व्यवसायिक सम्झौता गरेको छ । बिद्युतिय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जुकुमार थापा र इजी एस्योरेन्सको तर्फबाट प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरे ।

सो सम्झौतापछि इजी ट्याक्सी अन्तर्गत संचालनमा रहेका करिब ५ हजार ट्याक्सीहरुको सेवा उपभोग गरेबापत ग्राहकहरुले भुक्तानी गर्नुपर्ने भाडा रकम माछापुच्छ्रे बैंकको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । देशभर डिजिटल सेवाहरुको उपयोग बढिरहेको बेलामा इजि ट्याक्सी नेपाल एपमार्फत लामो समयदेखि इजि एस्योरेन्सले प्रविधि मैत्री ट्याक्सी सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्झौतापछि बोल्दै इजि ट्याक्सीका प्रबन्ध निर्देशक सन्जित पौडेलले बैंकसँगको सहकार्यले डिजिटल ट्याक्सी सेवालाई अगाडि बढाउन सहयोग पुग्ने बताए । ‘हामीले इजि ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा दिइरहेको बेलामा रकम भुक्तानीमा समस्या भइरहेको थियो । अब सो समस्या समाधान भएको छ । आगामी दिनमा थप यात्रुहरुलाई सेवा दिन सहज हुनेछ,’ प्रबन्ध निर्देशक सन्जित पौडेलले भने ।

मोबाइल एपमा आधारित ट्याक्सी सेवालाई सहज बनाउने उद्देश्य र कोभिड-१९ को संक्रमणको समयमा नगद कारोबारमा देखिने जोखिम न्यूनीकरण गर्न तथा ग्राहकहरुलाई बिद्युतिय कारोबारमा प्रोत्साहित गर्नका लागि इजि ट्याक्सी र बैंकबिच सम्झौता भएको हो । 

जुनसुकै बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो बैंकको मोबाइल बैंकिङ्ग एपको माध्यमबाट क्युआर कोड स्क्यान गरी ट्याक्सीको भाडा एपमार्फत भुक्तानी गर्न सक्नेछन् । 

पछिल्लो दिनमा क्युआर कोर्डमार्फत रकम भुक्तानी निकै सजिलो र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गएको छ । रकम भुक्तानीका लागि प्रापकको खाता नम्वर, नाम लगायतका विवरण लिखित रुपमा लिइरहनुपर्ने झन्झट नहुने र कुनै पनि क्युआर कोड एकआपसमा नमिल्ने भएकाले पनि क्युआर कोड अहिले ग्राहकको पहिलो रोजाइमा परेको छ ।

इजी ट्याक्सी नेपाल एपले ट्याक्सी व्यवसायलाई मर्यादित, व्यवस्थित, जिम्मेवार र सुरक्षित बनाउनका लागि विभिन्न ट्याक्सी कम्पनीहरु, सरोकारबाला निकायहरु, ट्याक्सी स्वरोजगार व्यवसायीहरुसँग मिलेर काम गर्दै आईरहेको छ ।