राष्ट्रिय वाणिज्य बैंकमा कर्जाको ब्याजदरः बैकिङ्ग क्षेत्रकै सबैभन्दा सस्तो

राष्ट्रिय वाणिज्य बैंकमा कर्जाको ब्याजदरः बैकिङ्ग क्षेत्रकै सबैभन्दा सस्तो


बैकिङ्ग समाचार ।  

राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर नेपालको बैकिङ्ग क्षेत्रमा सबैभन्दा सस्तो बनेको छ । 

बैंकको आधारदर ६ प्रतिशतभन्दा कम भएकाले समग्रमा ब्याजदर पनि एकल बिन्दुमा झरेको छ । बैंकको आधार दर ६ प्रतिशतभन्दा पनि तल ५ दशमलव ९० प्रतिशत कायम भएको बताइएको छ । 

यसमा १ दशमलव २५ प्रतिशतदेखि ३ दशमलव २५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराइएको छ ।  अधिकतम प्रिमियम जोड्दासमेत बैंकको ब्याजदर ९ प्रतिशतको हाराहारीमा रहेकाले बैंकको ब्याजदर अन्य बैंकहरूको भन्दा धेरै सस्तो भएको हो । 

बैंकले ७ दशमलव २५ प्रतिशत ब्याजदरको घरकर्जा उपलब्ध गराइने व्यवस्था गरेको बताएको छ । यो कर्जा घर किन्न, घडेरी किनेर घर बनाउन र अन्य बैंकबाट लिएको घरकर्जालाई स्वाप गर्ने सुविधासमेत दिइएको छ । 

कोभिड– १९ को असरले कर्जाको माग कम भएर गएको र निक्षेपमा चाप नपर्दा लगानीयोग्य रकम बढेकाले निक्षेप र कर्जा दुवैमा ब्याजदर घटेको बुझिएको छ ।  बैंकले नेपालका वाणिज्य बैंकहरूमा सबैभन्दा बढी प्रतिस्पर्धी राष्ट्रिय वाणिज्य बैंक नै रहेको र यसको ब्याजदर पनि अन्य बैंकको तुलनामा न्यून भएको बाणिज्य बैंकमा कार्यरत बैंकरहरु बताउँछन् । 

राष्ट्रिय वाणिज्य बैंकको कर्जाको ब्याजदरमा स्थायित्वसमेत रहेको र छिटो–छिटो ब्याजदर परिवर्तन गर्ने सम्बन्धमा ग्राहकको सुविधालाई ध्यान दिएर ब्याजदर परिवर्तन गर्ने गरिएको बताइन्छ ।  कर्जाको माग बढेर जाँदा लगानीयोग्य रकमको अभाव हुने र त्यस्तो अवस्थामा निक्षेप बढाउनुपर्ने दबाब हुँदा ब्याजदर स्वतः बढ्न जाने गर्छ । तर, राष्ट्रिय वाणिज्य बैंकमा त्यस्तो समस्या नरहेको बैंक बताउँछ ।  प्रविधि र जनशक्तिको हिसाबले राम्रो व्यवस्थापन गरिएकाले बैंकको समग्र व्यवसायमा सकारात्मक असर परेको छ भने अहिलेको बैकिङ्ग  प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

यो अवस्था राष्ट्रिय वाणिज्य बैंकमा पनि छ । पछिल्लो अवस्थामा राष्ट्रिय वाणिज्य बैंकमा कर्जा–पूँजी–निक्षेप अनुपात ६३ प्रतिशत कायम भएको छ । यसको अर्थ बैंकमा अझै लगानीयोग्य रकम प्रशस्त छ । त्यसैले कर्जाको ब्याजदर तत्काल हेरफेर हुने सम्भावना नभएको बैंक बताउँछ । 

हाल बैंकले सामान्य बचतमा ३ दशमलव ५ प्रतिशत, विशेष बचत, सुनौलो बचतलगायतका बचत खातामा रकम जम्मा गर्दा ५ प्रतिशत ब्याजदर दिएको छ । त्यस्तै अमेरिकी डलर बचतमा १.५ प्रतिशत, युरो र अन्य मुद्रामा शून्य दशमलव ७५ प्रतिशत ब्याजदर रहेको छ । मुद्दती निक्षेपअन्तर्गत व्यक्तिगतमा ७ प्रतिशतदेखि ७ दशमलव २५ प्रतिशत र संस्थागतमा ६ दशमलव ५ प्रतिशतदेखि ६ दशमलव ६ प्रतिशतसम्म ब्याजदर रहेको छ ।