बानेश्वरमा फेरि भेला भए जेन जी प्रदर्शनकारी, आन्दोलन थप बढ्ला ?


काठमाडौं – केही समयअघि मात्रै सेनाले नियन्त्रणमा लिएको भनिएको नयाँ बानेश्वर क्षेत्रमा पुनः जेन जी प्रदर्शनकारीहरू भेला हुन थालेका छन्। बिहान माइतीघर मण्डलाबाट सुरु भएको शान्तिपूर्ण प्रदर्शन बानेश्वर पुगेपछि हिंसात्मक रूप लिएको हो।

प्रदर्शनकारीहरूले संसद् भवनमा तोडफोड गर्दै प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले जनाएको छ। सो क्रममा गोली लागेर हालसम्म १७ जनाको ज्यान गएको छ,भने २०० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

तनावपूर्ण बनेको अवस्थालाई नियन्त्रणमा लिन बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको भए पनि प्रदर्शन रोकिएको छैन। परिस्थितिलाई थप जटिल हुन नदिन सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको प्रहरीले जनाएको छ।