खराब कर्जा र ब्याज आम्दानीले बैंक अफ काठमाण्डूको नाफा घट्यो, एनपीएल बढ्यो

खराब कर्जा र ब्याज आम्दानीले बैंक अफ काठमाण्डूको नाफा घट्यो, एनपीएल बढ्यो


बैकिङ्ग समाचार 

बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा २२.२१ प्रतिशतले नाफा घटेको विवरण सार्वजनिक गरेको छ ।

बैंकको ब्याज आम्दानीमा आएको गिरावट र खराब कर्जामा भएको वृद्धिले नाफा प्रभावित भएको हो । बैंकको ब्याज आम्दानी ५.२१ प्रतिशतले घटेको छ भने खराब कर्जा ५२.६० प्रतिशतले बढेको छ । बैंकको वित्तीय विवरणमा लकडाउनको असर देखिएको छ ।

बैंकले गत आर्थिक वर्ष ०७६/०७७ मा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ८९ करोड ६९ लाख खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि खुद मुनाफा २२.२१ प्रतिशतले घटेको हो। खुद मुनाफा घटेपछि बैंकको वितरण योग्य नाफा समेत घटेको छ । बैंकको वितरण योग्य नाफा ८८ करोड ७ लाख रुपैयाँमा छ । जसबाट बैंकले दश प्रतिशतसम्म लाभांश दिनसक्छ ।

बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २७ पैसा घटेर १७ रुपैयाँ २६ पैसामा झरेको छ। बैंकको मूल्य आम्दानी अनुपात १२.६९ गुणा तथा प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ४४ पैसा छ। ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ८० करोड ८४ लाख र शेयरधनी कोषमा ९५ करोड ५२ लाख रुपैयाँ सञ्चित छ।

गत असार मसान्तसम्ममा ९२ अर्ब १० करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७५ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप ११.३४ प्रतिशत तथा कर्जा ७.७२ प्रतिशतले बढेको छ । जसबाट बैंकले ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको खुद ब्याज आम्दानी ५.२१ प्रतिशत कम हो ।

बैंकको निष्क्रिय कर्जा १.५४ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ३.८१ प्रतिशत आधारदर ८.७१ प्रतिशत छ । बैंकको स्प्रेड र आधारदर दुवै घटेको हो । बैंकको कोषको लागत घटेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७०.९१ प्रतिशत छ ।