बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीबाट सेवा दिनुपर्ने

बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीबाट सेवा दिनुपर्ने


बैकिङ्ग समाचार । 

सरकारले जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने सरकारी तथा गैरसकारी र बैंक तथा वित्तीय संस्थाका कार्यालयमा ५० प्रतिशत मात्रै कर्मचारीबाट सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारले कोरोना संक्रमण बढ्दो क्रममा रहेको हुनाले सीमित कर्मचारीबाट सेवा दिन निर्देशन दिएको हो ।

सरकारको निर्णय सार्वजनिक गर्दै अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने सरकारी तथा गैरसकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाका कार्यालयमा ५० प्रतिशतमात्रै कर्मचारी कार्यालयमा आउन पाउने बताए । अरू कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले गर्नुपर्ने समेत उनले बताए ।

जोर / बिजोर प्रणाली लागू गरेको सरकारले सार्वजनिक यातायात रोक्ने निर्णय नगरेको उनले बताए । तर, अन्तर जिल्ला सार्वजनिक यातायात भने खुलेको छैन । दुई सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्ला र काठमाडौं उपत्यकामा सरकारी तथा गैरसरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाले वर्क फर्म होम नियमअनुसार काम गर्नुपर्ने उनले बताए ।

सरकारले होटल तथा रेष्टुरामा पकाएका परिकार लैजान दिने निर्णय भए पनि रेष्टुरा र होटलमा बस्न भने नदिने निर्णय गरेको छ । साउन १५ देखि होटल र रेष्टुरा खोल्न दिए पनि मास्क नलगाउने र स्वास्थ्य सुरक्षाको ख्याल नगरी अनावश्यक भीडभाड गरेकोले होटल र रेष्टुरामा बस्न नदिने नियम लागू गर्नु परेको मन्त्री खतिवडाको भनाइ छ ।

सरकारले भदौ १५ गतेसम्म विद्यार्थी भर्नाका कार्यक्रम पनि रोकेको छ । शैक्षिक संस्था, सैलुन लगायत अर्को सूचना जारी नहुँदासम्म बन्द नै रहने समेत उनले बताए।

सरकराले सीमा नाका भदौ ३१ गतेसम्म बन्द गरेको छ भने जोखिममा रहेका नेपालीलाई स्वदेश ल्याउन १० वटा नाका खुला गरेको छ । यसअघि जोखिममा रहेका नेपालीलाई स्वदेश ल्याउन भारततर्फ २० नाका खुला गरिएका थिए ।