सिद्धार्थ बैंकले कमायो २ अर्ब ९ करोड, वितरणयोग्य नाफा ८६ करोड

सिद्धार्थ बैंकले कमायो २ अर्ब ९ करोड, वितरणयोग्य नाफा ८६ करोड


बैकिङ्ग समाचार । 

सिद्धार्थ बैंक लिमिटेडले गएको आर्थिक वर्षमा २ अर्ब ९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। कोभिड १९ कारण पछिल्लो त्राइमासमा व्यवसाय प्रभावित भएपछि अघिल्लो वर्षको तुलनामा केही नाफा खुम्चिएको हो।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो खुद नाफा अघिल्लो वर्षको तुलनामा १६ करोड न्यून हो।

बैंकको वितरणयोग्य नाफा ८६ करोड रुपैयाँमात्र रहेको छ। बैंकको खुद मुनाफाबाट बैंकले गर्नुपर्ने अनिवार्य खर्च तथा संचिति कटाएर यस्तो वितरणयोग्य नाफा तय हुन्छ।

गएको वर्ष बैंकले खुद ब्याज आम्दानी ५ अर्ब २४ करोड गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २४ प्रतिशत बढी हो हो। अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ४ अर्ब २१ करोड रुपैयाँ थियो।

बैंकले ब्याज आम्दानी बाहेक शुल्क तथा कमिसनबाट गर्ने आम्दानी ५ प्रतिशतले बढेको छ।अघिल्लो वर्षको यही अवधिमा १ अर्ब १ करोड आम्दानी गरेको बैंकले यो शिर्षकमा यो वर्ष १ अर्ब ७ करोड आर्जन गरेको छ।

बैंकको सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ। अघिल्लो वरष ३ अर्ब २८ करोड सञ्चालन नाफा गरेको बैंकले गएको वर्ष ३ अर्ब ६ करोडमात्र रहेको छ।

बैंकले गएको वर्ष १ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २५ अर्बले बढी हो। त्यस्तै बैंकले गएको वर्ष १ खर्ब २३ अर्ब ऋण लगानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १९ अर्ब बढी हो।

बैंकको खराब कर्जा भने केही बढेको छ। अघिल्लो वर्षको अन्तमा ०.७५ प्रतिशत रहेको यस्तो भाखा नाघेको कर्जा यो वर्ष भने १.५६ प्रतिशत छ।

९ अर्ब ७८ करोड चुक्ता पुँजी भएको बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा रहेको छ। शेयरको बजार मूल्य २९६ रुपैयाँ रहेको छ।