सनराईज बैंक कर्मचारी आत्महत्या काण्डः विष सेवन गर्नुअघि यस्तो थियो उनले लेखेको  ‘सुसाइड नोट’

सनराईज बैंक कर्मचारी आत्महत्या काण्डः विष सेवन गर्नुअघि यस्तो थियो उनले लेखेको  ‘सुसाइड नोट’


बैकिङ्ग समाचार ।  
 सनराइज बैंक शाखा कार्यालय विराटनगरमा कार्यरत एक महिला कर्मचारी बुधबार दिउँसो बैंककै शौचालयमा बेहोस अवस्थाम भेटिइन् ।

विराटनगर महानगरपालिका–८ सहयोगी टोलकी ३० वर्षीया सनाज खतिवडा बेहोस भेटिएको स्थानमा मुसा मार्नका लागि प्रयोग गरिने विषादीको बट्टा भेटियो । बैंकको वरिष्ठ सहायक अधिकृत पदमा कार्यरत उनलाई तत्काल उपचारका लागि नोबेल शिक्षण अस्पताल लगियो ।

तर चिकित्सकले बचाउन सकेनन् । विषादी सेवन गरेका कारण उनको मृत्यु भएको खुल्यो । साथै उनले ब्लेडले आफ्नो देब्रे हातसमेत काटेको पाइयो । ब्लेडले हात काटेपछि कार्यालयमा रहेको मुसा मार्ने औषधि सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । ब्लेड र विषादीको बट्टा पनि प्रहरीले बरामद गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईकाअनुसार विष सेवन गर्नुअघि ‘सुसाइड नोट’ लेखेर छाडेको पाइएको छ । त्यो आधारमा ‘सुसाइड नोट’ लेखेर ब्लेडले हात काट्दै उनले विष पिएर आत्महत्या गरेको प्रहरीको निस्कर्ष छ ।

प्रहरीले फेला पारेको ‘सुसाइड नोट’मा खतिवडाले बाबु र आमालाई सम्बोधन गरेको पाइएको छ । नोटमा आफ्नै कारणले मरेको र यस घटनामा कसैलाई पनि दोष नदिन भनिएको राईले बताए ।

मृतक युवतीले बैंकमा आफ्ना बाबुको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको र विभिन्न बैंक तथा वित्तिय संस्थामा आफ्नो शेयर रहेको नोटमा उल्लेख गरेको जानकारी राईले दिए । खतिवडा परिवार नजिकका एक सदस्यका अनुसार युवतीमा केही दिनदेखि मानसिक तनाव देखिएको थियो ।

सातादिन अघि पनि युवतीले आत्महत्याको प्रयास गरेको जानकारी परिवारले प्रहरीलाई दिएको डीएसपी राईको भनाइ छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।