नेपाल उद्योग वाणिज्य महासंघका सदस्य श्रेष्ठमा भेटियो कोरोना

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य श्रेष्ठमा भेटियो कोरोना


बैकिङ्ग समाचार ।
नेपाल उद्योग वाणिज्य महासंघको यसअघि आह्वान गरिएको ५४ औं वार्षिक साधारण सभा स्थगित भएपछि निर्वाचनको मोडालिटी र मिति तय गर्ने तयारी हुँदै गर्दा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

श्रेष्ठले शनिबार आफ्नो फेसबुक प्रोफाइल मार्फत आफुलाई कोभिड १९ संक्रमण भएको पुष्टि गरेका हुन्।

विश्वव्यवापी महामारी कोभिड १९ सँग अग्रपंक्तिमा रहेर सेवा गरिरहेका स्वास्थ्यकर्मीहरुको आवास व्यवस्थापनको संयोजन तथा अन्य समाजिक जिम्मेवारीको कार्यमा खटिरहँदा साउन २३ गते शुक्रबार आफुमा संक्रमण देखिएको उनले बताएका छन्।

संक्रमण देखिएलगत्तै होटल सिटी प्यालेसको आइसोलेसनमा उचाररत रहेको उनले उल्लेख गरेका छन्। साथै उनले संक्रमणमा पर्नुभएका सबैजनामा नआत्तिन र अन्य सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पनि सरकारले जारी गरेको निर्देशनको पूर्ण पालना गर्दै स्वास्थ्य सर्तकता अपनाउन अपील गरेका छन् ।

श्रेष्ठको उक्त स्ट्याटसमा उद्योग वाणिज्य महासंघका जिल्ला नगर, वस्तुगत तथा अन्य सदस्यहरुले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

महासंघको  यसअघि साउन २६ र २७ तय भएको साधारण सभा स्थगित भएपछि महासंघ कार्यकारिणी समितिको बुधबार सम्पन्न भएको भर्चुअल बैठकले साधारण सभा र निर्वाचनको मिति तय गर्न ६ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको थियो।

समितिलाई १५ दिनभित्र साधारण सभासँगै नयाँ कार्यसमितिको निर्वाचन कहिले र कसरी गर्ने भन्ने प्रतिवेदन सहितको सुझाव पेश गर्ने अधिकार दिइएको छ। समितिमा जिल्ला तथा नगरबाट डीबी बस्नेत र अरुण सुमार्गी, वस्तुगतबाट विनोद ढकाल र सुनिल गोपाल श्रेष्ठ, एशोसिएटतर्फबाट रञ्जित आचार्य र भरत आचार्य सदस्य छन् ।