भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण


एजेन्सी । 
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोनाभाइरसको संक्रमण भएको छ।

गृहमन्त्री शाहले आइतबार दिउँसो ट्विट गर्दै  आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन्।

‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण  गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ।  मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु,’ शाहले ट्विटमा भनेका छन्,‘मेरो अनुरोध  कि तपाईंहरूमध्ये केही दिनयता मेरो सम्पर्कमा आएका व्यक्तिहरूले आफूलाई आइसोलेसनमा राखेर परीक्षण गराउनु होला।’
भारतमा कोरोना संक्रमण हुने भारत सरकारका उच्च अधिकारी हुन्।

यसअघि आजै उत्तर प्रदेशकी एक जना मन्त्रीले कोरोनाभाइरसका कारण ज्यान गुमाएकी थिइन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथको क्याबिनेटमा शिक्षा मन्त्री रहेकी ६२ वर्षीया कमला रानीको आइतबार मृत्यु भएको हो। उनलाई १८ जुलाईमा कोरोना संक्रमण भएको थियो। उनको लखनऊस्थित एसजिपिजिआई अस्पतालमा उपचार भइरहेको थियो।

मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दु:ख व्यक्त गरेका छन्। उनले आइतबार अयोध्या जाने आफ्नो कार्यक्रम रद्द गरेका छन्।

कमला रानीले सन् २०१७ को विधान सभामा कानपुरको घाटमपुरबाट जित हात पारेकी थिइन्। उक्त क्षेत्रमा चुनाव जित्ने उनी भारतीय जनता पार्टीकी पहिलो विधायक हुन्। यसअघि कमला रानी भारतको लोकसभाकी पनि सांसद बनिसकेकी छन्।

पछिल्लो समय भारतमा दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिइरहेको छ। पछिल्लो २४ घन्टामा भारतभर ५४ हजार ७ सय ३६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ५३ जनाको मृत्यु भएको छ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म त्यहाँ १७ लाख ५० हजार ७२४ जनामा कोरोना संक्रमण देखिएको छ भने ३७ हजार ३ सय ६४ जनाको  मृत्यु भएको छ। अहिलेसम्म ११ लाख ४५ हजार संक्रमित निको भएका छन् भने ५ लाख ६७ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ।