बैंकिङ्ग समाचार, काठमाडौं ।
घोराही सिमेन्टको साधारण शेयर (आइपिओ) वैशाख १९ गते देखि बिक्री खुला हुने भएको छ। घोराही सिमेन्टले नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा धितोपत्रको सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्न स्वीकृति पाएको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मङ्गलबार वैशाखदेखि आवेदन दिन सकिने जनाएको। उनीहरूले प्रति शेयर चार सय रुपैयाँमा शेयर खरिद गर्न सक्छन्। उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि प्रति शेयर एक सय रुपैयाँमा तीन सय रुपैयाँ प्रिमियम थप गरि प्रति शेयर चार सय रुपैयाँ अंकित मूल्य कायम गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै, सर्वसाधारणको लागि प्रति शेयर एक सय रुपैयाँ दरले निष्कासनमा प्रिमियम तीन सय ३५ रुपैयाँ थप गरि प्रति शेयर चार सय ३५ रुपैयाँ अंकित मूल्य कायम गरिएको कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ। घोराही सिमेन्टले जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशतले ७९ करोड ४३ लाख ८० हजार रुपैयाँ बराबरको ७९ लाख ७३ हजार ८०१ कित्ता साधारण सेयर निष्कासन गर्न स्वीकृति पाएको हो।
कम्पनीले जारी पुँजीको १ प्रतिशतले हुने ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले तीन लाख ९७ हजार १९० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।
उक्त सेयरमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९ तथा दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृतै प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको बताइएको छ।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतममा एक लाख कित्तासम्मका लाग आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीहरूले ७ लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया