बैंकमा अधिक तरलता, राष्ट्र बैंकले २० अर्ब माग्दा बैंकहरुले ८३ अर्ब बुझाए 

बैंकमा अधिक तरलता, राष्ट्र बैंकले २० अर्ब माग्दा बैंकहरुले ८३ अर्ब बुझाए 


बैकिङ्ग समाचार । 
बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) बढेपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बजारबाट खिचेको छ। राष्ट्र बैंकले बिहीबार उक्त रकम वित्तीय प्रणालीबाट खिचेको हो ।

राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ ताने पनि अझै बजारमा एक खर्ब ८० अर्ब बढी अधिक तरलता छ । बिहीबारसम्म वित्तीय प्रणालीमा करिब २ खर्ब बढी लगानीयोग्य रकम थियो ।

बैंक वित्तीय संस्थाहरुमा लगानी योग्य रकम प्रशस्त हुँदा राष्ट्र बैंकले २० अर्ब माग्दा ८३ अर्ब ५ करोड रुपैयाँ दिन तयार भएका हुन् । २० अर्बको रिभर्स रिपोका लागि १९ वटा बैंक तथा वित्तीय संस्थाले ८३ अर्ब ५ करोड रुपैयाँ प्रस्ताव गरेका थिए । १९ वटा वित्तीय संस्थाहरुले १२३ वटा आवेदन दिएका थिए । जसमा न्यूनतम ०.०१० देखि ०।०४० सम्म ब्याजदर माग गरिएको थियो । रिभर्स रिपोको ब्याजदर ०.०३० प्रतिशत कायम भएको छ ।

गत साता पनि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ रिभर्स रिपो जारी गर्दा २२ बैंक तथा वित्तीय संस्थाले १३५ आवेदनमार्फत ६८ अर्ब २० करोड दिन तयार भएका थिए । गत साता रिभर्स रिपोको ब्याजदर ०.०४६ प्रतिशत कायम भएको थियो । रिभर्स रिपोको ब्याजदर समेत अघिल्लो साताको भन्दा घटेको छ ।

अघिल्लो साता जारी भएको रिभर्स रिपो परिपक्व भएपछि राष्ट्र बैंaकले पुनः सोही रकमबराबरको रिभर्स रिपो जारी गरेको हो।

 

बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप थपिने तथा कर्जा प्रवाह ठप्प भएपछि तरलता बढेको हो। गत आर्थिक वर्षको अन्त्यमा भएको सरकारी खर्च, रेमिट्यान्स, ब्याज पूँजीकरण लगायतले वित्तीय प्रणालीमा लगानीयोग्य रकम बढेको हो।

नयाँ आर्थिक वर्षको सुरु र लकडाउन अन्तय भइसक्दा पनि बैंक तथा वित्तिय संस्थाहरुमा कर्जाको माग अझै शून्य जस्तै छ । पुराना ऋणीले केही ऋण थप गरे पनि नयाँ कर्जाको माग नभएकाले तरलता थुप्रिएको बैंकहरूको भनाई छ । 

अधिक तरलता भएपछि जोखिमपूर्ण क्षेत्रमा कर्जा जाने सम्भावना बढेको छ । बढ्दो तरलता र घट्दो ब्याजले अनुत्पादक क्षेत्रमा कर्जा बढ्ने र पूँजी पलायनको सम्भावना रहने विश्लेषकहरु बताउँछन् ।