सर्वसाधारणबाट करोडौं रकम उठाएका ३ दर्जन कम्पनी शेयर बजारबाट बेपत्ता

सर्वसाधारणबाट करोडौं रकम उठाएका ३ दर्जन कम्पनी शेयर बजारबाट बेपत्ता


बैकिङ्ग समाचार । 
शेयर बजारमा सूचीकृत श्रीराम सुगर मिल्सले गत आइतबार स्थायी रुपमा उद्योग बन्द गर्ने निर्णय गर्यो । उद्योग नै बन्द भएपछि नेप्सेले उक्त कम्पनीको शेयर सूचीकरण खारेज गरेको छ ।

दुई अर्ब बढी घाटामा पुगेको भन्दै अढाइ दशकदेखि सञ्चालनमा रहेको उद्योग एकाएक बन्द भएपछि सर्वसाधारणको लगानी के होला भन्ने चासो बढेको छ। श्रीराम सुगरमिल मात्र होइन यसअघि तीन दर्जन बढी कम्पनी शेयरबजारबाट बेपत्ता भएका छन् । भगौडा कम्पनीहरुको सूचीमा निजी क्षेत्रका मात्र होइन सरकारी कम्पनीहरु समेत छन् । जसले सर्वसधारणको करोडौं रकम कुम्ल्याएर बेपत्ता भएका छन् ।

प्रत्यक्ष नियमनकारी निकाय नहुँदा यस्ता कम्पनीहरु शेयर बजारबाट गायब हुँदा सर्वसाधारणले करोडौं लगानी डुब्ने गरेको छ ।

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई शेयर बजारबाट भागेका कम्पनीहरुको खोजी र कारबाही गर्ने अधिकार नहुँदा सर्वसाधारणको लगानी समेत डुब्ने हुने गरेको हो।

श्रीराम सुगर मिल थपिएसँगै शेयर बजारबाट गायब हुने कम्पनीको संख्या ३९ पुगेको छ । यसमध्ये कतिपय कम्पनीले आईपीओ बिक्री गरे पनि नेप्सेमा सूचीकृत समेत भएका थिएनन् ।

कतिपय कम्पनी विना सूचना बजारबाट बाहिरिए भने कतिपयको नेप्सेले सूचीकरण खारेज गरिदिएको छ । बैंक वित्तीय संस्था तथा बीमा कम्पनीहरुको जस्तो उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष नियमनकारी निकाय नहुँदा यस्ता घटना दोहोरिने गरेका छन् ।

कमजोर नियमन र जथाभावी शेयर बिक्री गर्न दिइएकाले ती कम्पनीमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ता ठगिने गरेका छन् । पछिल्लो चरणमा सरकारले उत्पादनमूलक र अन्य वर्गका कम्पनीहरुलाई शेयर बजारमा भित्र्याउन प्रोत्साहन र पहल गर्दै आएको छ ।

यस्ता गतिविधि भइरहने हो भने बलियो नियमनकारी निकाय नभई शेयर बजारमा अन्य क्षेत्रका कम्पनीहरु भित्र्याउँदा सर्वसाधारणको लगानी जोखिममा रहने देखिन्छ ।