नेपाल टेलिकमको वेबसाइट फेरियो, यस्ता छन् नयाँ सुविधा 

नेपाल टेलिकमको वेबसाइट फेरियो, यस्ता छन् नयाँ सुविधा 


बैकिङ्ग समाचार । 
नेपाल टेलिकमको वेबसाइटलाई परिमार्जन गरिएको छ। टेलिकमले थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाएको बताएको छ।
वेबसाइटको होमपेजमै राखिएको 'सेल्फ केयर' एकाउन्टको प्रयोग गरेर विभिन्न सेवाका बारेमा जानकारी पाउन र सेवा खरिद गर्न सकिन्छ।

सेल्फ केयर एकाउन्टमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज किन्न पनि सकिन्छ। आफन्त वा साथीभाईलाई प्याकेज गिफ्ट दिन पनि सकिन्छ।

त्यसैगरी, आफूले किनेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध व्यालेन्सको बारेमा जानकारी लिन सकिने कम्पनीले बताएको छ।

रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवाहरुमा अनलाइन रिचार्ज वेबसाइटबाटै गर्न सकिन्छ।

नयाँ सिमकार्ड लिनका लागि आवश्यक केवाइसी फर्म समेत यहीबाट भर्न सकिन्छ।

कम्पनीबाट उपलब्ध रोमिङ सेवा, फ्रेन्ड्स एन्ड फ्रेन्ड सेवा, नमस्ते क्रेडिट सेवा, मिस्ड कल अलर्ट, सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्यु एडेड सर्भिस, फोरजी एलटीई सेवा, फाइबर टु द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुप जस्ता सेवाहरुको बारेमा जानकारी लिन पनि सकिन्छ।

साथै पोष्टपेड तथा प्रिपेड मोबाइल, ल्यान्डलाइन तथा अन्य विभिन्न सेवाहरुका थप विशेषताका बारेमा यसबाट जानकारी पाउन सकिन्छ। त्यसैगरी, रिचार्ज कार्डका ६ वटासम्म अंकहरु मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।

कम्पनीका विभिन्न कामको जानकारीका लागि प्रकाशित गरिएका प्रेस विज्ञप्ति र न्युजलेटर सोही वेबसाइटबाट अध्ययन गर्न सकिन्छ।

कम्पनीले मासिक रुपमा प्रकाशन गर्ने एनटी न्युजलेटर कम्पनीको वेबसाइटबाट सब्सक्राइब गर्न सकिन्छ।

नेपाल टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरुको बारेमा जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बर पनि वेबसाइटबाटै खोज्न सकिने कम्पनीले बताएको छ।

आफूलाई आवश्यक पर्ने नेपाल टेलिकमका कुनैपनि सेवाको बारेमा खोजी गर्न सकिने सुविधा समेत वेबसाइटको होमपेजमै उपलब्ध छ।

होमपेजको मेनुको अन्त्यमा रहेको आइकनमार्फत सेवाहरुका बारेमा विस्तृत जानकारी पाउन सकिन्छ।
वेबसाइटको होमपेजमै विभिन्न डाटा प्याकेजहरुको जानकारी दिइएको छ। यहीबाट आफूलाई आवश्यक डाटा प्याकेज किन्न सकिन्छ।

यससँगै नेपाल टेलिकम मोबाइल एपको बारेमा जानकारी पनि कम्पनीको वेबसाइटमा राखिएको छ। डाउनलोडमा गएर कम्पनीको प्रबन्धपत्रदेखि विभिन्न सेवाका फारामहरु, बोलपत्र आव्हान आदि प्राप्त गर्न सकिन्छ।

न्यूज एन्ड अपडेट्सबाट कम्पनीको वार्षिक स्मारिका, महत्वपूर्ण सूचनाहरु तथा विभिन्न शैक्षिक कार्यक्रमका नतिजाहरु त्यहाँ दिइएको छ।

टेलिकमकाअनुसार मोबाइल सेवा, ल्याण्डलाइन टेलिफोन, एफटिटिएच तथा एडिएसएल सेवाका बारेमा जानकारी लिन सकिन्छ। सोधपुछ गर्न तथा गुनासाहरु दर्ता गराउनका लागि प्रयोग हुने विभिन्न ‘सर्ट कोड्स’ पनि वेबसाइटबाट पाउन सकिन्छ।