बीमा र लघुवित्तका सेयरमा लगानीकर्ता ओइरिए, १ अर्ब ३२ करोडभन्दा बढी कारोबार

बीमा र लघुवित्तका सेयरमा लगानीकर्ता ओइरिए, १ अर्ब ३२ करोडभन्दा बढी कारोबार


बैकिङ्ग समाचार ।

साताको अन्तिम दिन बिहीबार सेयर बजार १० दशमलव १३ अंक बढेर बन्द भएको छ।

कारोबार भएको एक घण्टामा ‘यु’ आकार बनेको नेप्से एक घण्टापछि विस्तारै बढ्दै गएको हो। १ हजार ४ सय ३४ विन्दुबाट सुरु भएको नेप्से १ हजार ४ सय १७ विन्दुसम्म ओर्लिएको थियो। एक घण्टामा नेप्से १७ अंकले घटबढ भएको थियो।

साताको अन्तिम दिन  भएकाले पनि सेयर खरिदकर्ताहरु बढेका हुन् । बिहीबार खरीद गरेको सेयरको रकम आइतबार दिए हुने भएकाले लगानीकर्ताहरुले बिहीबार धेरै सेयर उठाउने गरेको पाइन्छ।

कारोबार भएको दुई घण्टामा ५० करोड माथिको सेयर कारोबार भएको थियो भने बन्द हुँदा १ अर्ब ३२ करोड ७१ लाख माथिको कारोबार भएको छ। कारोबार भएका १ सय ८७ कम्पनीमा १०७ कम्पनीको मूल्य बढ्न पुगेको छ भने ४४ वटाको घटेको छ। १६ कम्पनीको सेयर मूल्य स्थिर छ।

कारोबार भएका १२ समुहको उपसमूहमा म्युचुअल फण्ड बाहेक बाँकी समूहको सूचक बढेको छ । होटल, निर्जीवन बीमा लघुवित्त र जीवन बीमा समूहका कम्पनीको सेयर मूल्य बढी बढेको छ।

स्वेडा लघुवित्तलाई गाभेर राष्ट्रिय स्तरको बनेपछि बिहीबारदेखि नेप्सेमा कारोबार खुलेको मिर्मिरे लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेको छ। कम्पनीले अझै नागवेली लघुवित्तलाई प्राप्ति गर्ने तयारी गरिरहेको छ।  

तारागाउँ र ओरियण्टल होटेलको सेयर मूल्य १० प्रतिशतसम्म बढेर सक्रिट ब्रेक नै लागेका छन्। कम्पनीहरुको दायित्वको तुलनामा सम्पत्ति अधिक रहेको, कर्जा सेयर अनुपातले यी कम्पनीहरुको पुँजी आधार सेयर नै भएको र बन्दाबन्दी खुलेसँगै व्यवसायमा सुधार हुन सक्ने अपेक्षाले यी कम्पनीको मूल्यवृद्धि भइरहेको लगानीकर्ता बताउँछन्।

बीमा समितिले निर्जीवन बीमा र जीवन बीमा कम्पनीहरुले बीमा शुल्क आर्जन गरेको विवरण सार्वजानिक गरेपछि त्यसको  प्रभाव बिहीबारको सेयर मूल्यमा परेको हो।  

बिहीबार नेपाल पुर्नबीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेपछि लगानीकर्ता यस कम्पनीमा आकर्षित भएका हुन्। कम्पनीको १० करोड २९ लाख भन्दा बढीको सेयर कारोबार भएको छ।