उद्योग वाणिज्य महासंघको साधारण सभा तत्कालका लागि स्थगित

उद्योग वाणिज्य महासंघको साधारण सभा तत्कालका लागि स्थगित


बैकिङ्ग समाचार । 
नेपाल उद्योग वाणिज्य महासंघले साउन २६ र २७ गतेका लागि तोकेको ५४ औँ वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ ।

पूर्व अध्यक्षहरु सहित बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले तत्कालका लागि साधारण सभा स्थगित गर्ने निर्णय गरिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

सरकारले लकडाउन खुला गरे पनि सामूहिक भोज, पार्टी, सेमिनार तथा सामूहिक भेला गर्न रोक लगाएका कारण तत्कालका लागि साधारण सभा स्थगित गर्ने निर्णय भएको राणाले जानकारी दिइन् । सरकारले अहिले रोक लगाएका क्षेत्रहरु खुला गरेपछि अर्को मिति तय गरिने उनले बताइन् । उनले सरकारले सभा सम्मेलन गर्ने स्वीकृति दिएको १५ दिनभित्र आयोजना गर्ने निर्णय भएको पनि जानकारी दिइन् ।

महासंघको साधारण सभा पूर्व सार्वजनिक यातायात तथा हवाई उडानहरु समेत सहज नभएकाले जिल्लाबाट आउने साथीहरुको सुविधा र सरकारको निर्णयलाई ध्यानमा राखेर तत्कालका लागि यस्तो निर्णय गरिएको उनले बताइन् । आगामी साधारण सभाका विषयमा सरकारसँग समन्वय गरेर महासंघले उचित निर्णय लिने पनि उनले जानकारी दिइन् ।