युके र कतार पठाइदिन्छु भन्दै ६० लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं – वैदेशिक रोजगारीको युके र कतार  पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको ३१ वर्षीय नबिना दाहाल घिमिरे र सर्लाहीको ४३ वर्षीय लछुमन साह तेली रहेका छन् । घिमिरेले २ जनालाई युके पठाइदिन्छु भन्दै ५२ लाख रुपैयाँ ठगी गरेका थिए ।

तेलीले ३ जनालाई  कतार पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेका थिए ।  घिमिरे माथि  वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दामा १० लाख बिगोसहित ठगी सम्बन्धी कसुर मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति आएकाले प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएको पाइएको प्रहरीले जनाएको छ । उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले बताएको छ ।