सशस्त्र प्रहरी सहायक निरीक्षक बनाइदिने भन्दै ४ लाख ९१ हजार ठगी गर्ने पक्राउ


काठमाडौं – सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा नाम निकाल्दिन्छु भन्दै ४ लाख ९१ हजार ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं १५ बस्ने ४७ वर्षीय सोम कौशिक क्षेत्री रहेका छन् । 

उनले असईमा नाम निकाल्दिन्छु भन्दै एक जनालाई आफ्नो ईसेवा आईडी तथा विभिन्न बैंक खाताहरू दिएर रकम जम्मा गर्न  लगाएका थिए । पीडितले उनले दिएको उक्त ईसेवा आईडी तथा विभिन्न बैंक खाताहरूमा ४ लाख ९१ हजार  रकम जम्मा गरिदिए पछि उनी फरार भएको भएकाे प्रहरीले जनाएकाे छ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोली काठमाडौंको नागार्जुनबाट पक्राउ गरेकाे हाे। उनलाई पक्राउ गरी उक्त कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।