कर्मचारी सञ्चय कोषका ऋणीहरूले एनआईसी एशिया बैंकबाट पनि किस्ता तिर्न सक्ने

कर्मचारी सञ्चय कोषका ऋणीहरूले एनआईसी एशिया बैंकबाट पनि किस्ता तिर्न सक्ने


बैकिङ्ग समाचार । 
कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले एनआईसी एशिया बैंकबाट पनि साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्ने भएका छन्।

कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच मंगलबार डिजिटल माध्यमबाट भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कोषको तर्फबाट मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका हुन्।

बैंकले नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिईरहेका ऋणीहरूलाई सुविधाको निमित्त किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने समझदारी गरेको हो ।

डिजिटल बैंकिङ्ग सेवामा अग्रणी स्थानमा रहिआएको यस बैंकले डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन लक्ष्यअनुरुप नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा विद्युतीय भुक्तानी जस्तो नवीनतम सुविधा ल्याएको छ ।

यस व्यवस्था अन्तर्गत अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता सञ्चालन गर्नुभएको कर्मचारी सञ्चय कोषका ऋणीहरूले नेपाल क्लियरिङ्ग हाउस पोर्टलमा लग इन गरेपछि  सरकारी शुल्क भुक्तानीमा गई भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन्।