असारमा मात्रै बैंकहरुमा थपियो २ खर्ब ११ अर्ब निक्षेप, १ खर्ब कर्जा प्रवाह 

असारमा मात्रै बैंकहरुमा थपियो २ खर्ब ११ अर्ब निक्षेप, १ खर्ब कर्जा प्रवाह 


बैकिङ्ग समाचार । 
गत आर्थिक वर्षको अन्तिम महिना असारमा वाणिज्य बैंकहरुमा २११ अर्ब निक्षेप थपिएको छ भने यस महिनामा बैंकहरुले एक खर्ब १ अर्ब कर्जा प्रवाह गरेका छन्।

असारको अन्तिम साता मात्रै बैंकहरुमा ९८ अर्ब निक्षेप तथा ६१ अर्ब कर्जा विस्तार भएको नेपाल बैकर्स संघले जनाएको छ ।

नेपाल बैकर्स संघका अनुसार मर्जरका कारण बैंकहरुको निक्षेप तथा कर्जामा बढोत्तरी आएको हो। असारमा मेगा बैंकले गण्डकी विकास बैंक, सिटिजनले सहयोगी विकास बैंक र कुमारीले देव विकास बैंकलाई गाभेकाले निक्षेप र कर्जाको आकार बढेको हो।

बैकर्स संघका अनुसार गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिको ब्याज र सरकारी भुक्तानीको रकम समेत बैंकहरुमा आएकाले निक्षेप थपिएको हो । त्रैमासको अन्त्यमा बैंकहरुले निक्षेपकर्ताको ब्याज भुक्तान गर्ने गर्छन् । त्यस्तै मर्जर र ओभर ड्राफ्टको रि-पेमन्टले पनि कर्जाको आकार बढेको बैकर्स संघको भनाई छ ।

गत आर्थिक वर्षको अन्तिम दिन अर्थात असार ३१ गतेसम्म वाणिज्य बैंकहरुमा ३४ खर्ब ८७ अर्ब निक्षेप रहेको छ भने यस अवधिसम्म बैंकहरुले २९ खर्ब ३ अर्ब कर्जा परिचालन गरेका छन् । एक वर्षको अवधिमा बैंकहरुमा ६ खर्ब ९ अर्ब निक्षेप थपिएको छ भने ४ खर्ब ५ अर्ब कर्जा थपिएको छ ।

२०७६ को असार मसान्तसम्म वाणिज्य बैंकहरुमा २८ खर्ब ७८ अर्ब निक्षेप थियो भने सो अवधिसम्म बैंकहरुले २४ खर्ब ९८ अर्ब कर्जा परिचालन गरेका थिए ।