बालबालिकाको शिक्षामा स्ट्याण्डर्ड चार्टर्ड बैंकको साढे २ करोड सहयोग

बालबालिकाको शिक्षामा स्ट्याण्डर्ड चार्टर्ड बैंकको साढे २ करोड सहयोग


बैकिङ्ग समाचार ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले कोभिड महामारीबाट प्रभावित बालिबालिकाको शिक्षाका लागि २ करोड ४० लाख रुपैयाँ  सहयोग गरेको छ।

बैंकले युनिसेफमार्फत नेपालका समुदायहरुमा कोरोना प्रभाव रोकथाम तथा नियन्त्रण तथा शिक्षाका  क्षेत्रमा काम गर्नका लागि  २ लाख डलर उपलब्ध गराएको जनाएको छ।

युनिसेफले जोखिममा परेका बालिबालिकाको लागि संचालन गरेको आकस्मिक सुरक्षा तथा शिक्षा कार्यक्रमलागि युनिसेफले अफ्रिका तथा नेपाल लगायतका दक्षिण एशियाली देशमा संचालन गरेको कार्यक्रमका लागि राहत स्वरुप  बैंकको यो रकम प्रदान गरेको बैंकले जनाएको छ।

यो सहायता प्रभावित बालबालिकालाई  टेलिभिजन, रेडियो, अनलाइन तथा मोबाइलको माध्यमबाट दूर शिक्षा प्रदान तथा बाल सुरक्षा तथा कोरोना महामारीका कारण परिवारबाट टाढिएका बालबालिकाको सहायताका लागि खर्च गरिने बताइएको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकका सिइओ अनिर्भाण घोष दास्तिदारले यो सहयोग समुदायका सबैभन्दा प्रभावित बर्गका लागि भएको बताए। युनिसेफसँगको सहकार्यबाट बैंकले कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितीमा सहायता प्रदान गर्न सफल हुने विश्वास समेत उनले ब्यक्त गरे।

यसैगरी युनिसेफका राहत कोष तथा साझेदारी बिभागका निर्देशक गेरी स्टालले कुनै पनि संकटका समयमा युवा तथा सबैभन्दा जोखिममा परेका  वर्ग नै नराम्ररी प्रभावित हुने बताए।

उनले कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा विश्वका १ अर्ब ३० करोड बालबालिका प्रभावित भएको बताए।

कोरोना महामारीबाट विश्वभरका बालबालिका नै सबैभन्दा बढी प्रभावित भएको भन्दै यो सहयोगबाट दूर शिक्षा कार्यक्रमलाई सघाउ पुग्ने बिश्वास ब्यक्त गरे।