बैंकका कर्मचारीलाई साउनमै बोनस, सानिमा बैंकेले बाँड्यो 

बैंकका कर्मचारीलाई साउनमै बोनस, सानिमा बैंकेले बाँड्यो 


बैकिङ्ग समाचार ।  
बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई बोनश वितरण गर्न थालेका छन् ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनश बाँड्न पाउने नीतिगत व्यवस्था मिलाइदिएपछि बैंक तथा वित्तीय संस्थाहरुले बोनस बितरण गर्न थालेका हुन् ।

मौद्रिक नीतिले सेयरधनीलाई दिने लाभांशमा दायरा तोकेपनि कर्मचारीको बोनशमा भने हस्तक्षेप नगरेपछि बोनश ऐनअनुसार बैंकहरुले कर्मचारीलाई बोनश वितरण गरेका हुन् ।

बोनश ऐन अन्तर्गत रोजगारादाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनश कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीलाई बोनश वितरण गर्छन् ।

अधिकांश बैंकहरुले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनशलाई किस्ता/किस्तामा वितरण गर्छन् । केही बैंकहरुले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको पहिलो साताभित्र र केही बैंकहरुले दशैमा र वार्षिक साधारणसभामा बोनश वितरण गर्छन् ।

यसअघिका वर्षमा साउनको पहिलो सातामा बोनश वितरण गर्ने बैंकहरुले कोरोनाका कारण ऋणको असूलीमा अन्यौता भएका कारण कर्मचारीले यस अवधिमा पाउने बोनशमा समेत अन्यौता थियो ।

बैंकर्स संघमा समेत साँवा, ब्याज रिकवरी र नउठेको ऋणीमा गर्नुपर्ने प्रोभिजनको व्यवस्थाअनुसार कर्मचारीलाई बोनश वितरण कहिले र कतिसम्म वितरण गर्नेमा छलफल गर्ने सहमति भएको थियो ।

तर बैंकर्स संघका अध्यक्षसमेत रहेका सानिमा बैंकले कर्मचारीलाई बोनश हालेको छ । ऋण असूली राम्रो भएका कारण बैंकले कर्मचारीलाई १ महिनाको तलब बराबरको बोनस हालेको बैंक व्यवस्थापनका एक अधिकारीले बताए ।

कर्मचारीलाई पनि भुक्तानी गर्नुपर्ने ठाँउमा समस्या नहोस भनेर एड्भान्स बोनश दिइएको तर बितरण गरिएको बोनसका कारण रिकवरी नभएमा पनि प्रोभिजनमा समस्या नहुने उनले बताए ।

साउनको पहिलो साताभित्र बैंकहरुले १ महिनादेखि ४ महिनासम्म तलब बराबरको बोनश वितरण गर्दै आएका थिए । तर अहिले बैंक बोनश वितरण गरेका प्राय बैंकले १ महिनाको मात्र वितरण गर्ने बुझिएको छ ।

साउनको पहिलो सातामा बोनश वितरण गर्नेमा हालसम्म सानिमा बैंकमात्र छ ।