‘खल्ती’ डिजिटल वालेट र नेपाल बैंकबीच सहकार्य, अब बैंक खाताबाट सिधै भुक्तानी गर्न सकिने

‘खल्ती’ डिजिटल वालेट र नेपाल बैंकबीच सहकार्य, अब बैंक खाताबाट सिधै भुक्तानी गर्न सकिने


बैकिङ्ग समाचार । 
‘खल्ती’ डिजिटल वालेटले मुलुककै पुरानो बैंक नेपाल बैंकसँग सहकार्य सुरू गरेको छ। यो सँगै अब ‘खल्ती’ डिजिटल वालेटका ग्राहकले नेपाल बैंकमा रहेको आफ्नो खातालाई जोडेर ‘खल्ती’मा नगद लोड नगरी सिधै बस्तु तथा खेवाको भुक्तानी गर्न सक्नेछन्।

उक्त कार्यका लागि नेपाल बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा खल्तीका तर्फबाट निर्देशक अमित अग्रवाल र प्रमुख ब्यवसाय विकास अधिकृत सदित घिमिरे तथा नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे।

नेपाल बैंकसँगको सहकार्यपछि ‘खल्ती’ डिजिटल वालेटलाई जोडेर सिधै बस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने बैंकको संख्या चार पुगेको छ।

यसअघि एनआइसी एशिया, लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटलाई खातासँग जोडेर सिधै भुक्तानी गर्दै आएका थिए।

‘खल्ती’का निर्देशक अमित अग्रवाल मुलुककै जेठो बैंकले कान्छो डिजिटल वालेटलाई विश्वास गरेकोमा आफूहरू गौरवान्वित भएको बताए।

‘नेपाल बैंकसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो,’ उनले भने, ‘ठूलो नेटवर्क र लाखौं ग्राहक भएको बैंक ‘खल्ती’सँग जोडिएपछि धेरै ग्राहकले ‘खल्ती’को सेवा उपयोग गर्ने हाम्रो विश्वास छ।’

खल्तीसँग बैंक खातालाई जोडेपछि सिधै वालेटमार्फत भुक्तानी गर्न सकिने भएकाले वालेटमा नगद लोड गर्ने झण्झट पनि ग्राहकलाई नपर्ने उनले बताए।

‘खल्ती’ डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो। ‘खल्ती’ वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।

‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढी छ।