काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं –तराई र मधेस द्रुतमार्गको सुरु विन्दुसम्बन्धी विवादबारे स्थानीय प्रतिनिधिहरूसँग छलफल गरेका छन्। सोमबार बालुवाटारमा आयोजित छलफलमा खोकना र बुङमती क्षेत्रका बासिन्दाहरूले वैकल्पिक सुरु विन्दुको प्रस्तावसहित परम्परागत संस्कृति जोगाइराख्न माग राखेका छन्।
तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले वडा नं २१ अध्यक्ष ज्ञानभक्त महर्जनसहितको टोलीले प्रधानमन्त्रीलाई भेटी संस्कृति र सभ्यता मासिने खतराबारे जानकारी दिएका थिए। उनीहरूले खोकना क्षेत्रको सट्टा साढे पाँच किलोमिटर तल पर्ने डुकुछापलाई सुरु विन्दु बनाउन सुझाव दिएका हुन्।
छलफलमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरू र नेपाली सेनाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। छलफलमा प्रधानमन्त्री ओलीले ‘स्थानीय जनतामा मर्का नपरोस् भन्ने सरकारको नीति हो,’ भन्दै निर्णय गर्नु अघि स्वयम् स्थलगत अवलोकनमा जाने बताएका छन्।
यसअघि गत माघ २३ गते सिंहदरबारमा आयोजना सम्बन्धी उच्चस्तरीय बैठक राखी प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, आर्थिक सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रमुख अशोकराज सिग्देललगायतसँग द्रुतमार्गको प्रगतिबारे छलफल गरेका थिए। करिब ७१ किलोमिटर लामो काठमाडौं –तराई द्रुतमार्ग २ खर्ब ११ अर्ब ९३ करोड लागतमा नेपाली सेनामार्फत निर्माण भइरहेको छ। यो आयोजनाको संशोधित म्याद २०८३ चैत मसान्तसम्म तोकिएको छ।






About Us
प्रतिक्रिया