बिदाका दिन पनि बैंक तथा वित्तीय संस्थाहरु खोल्न राष्ट्र बैंकको निर्देशन

9.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार, काठमाडौं ।

अब बैंक तथा वित्तीय संस्थाहरुले आकस्मिक बिदाको दिन पनि शाखा सञ्चालन गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै सरकारले आकस्मिक बिदा दिएको दिनमा बैंकिङ्ग सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिंग, आरटिजिएस लगायत अत्यावश्यक बैंकिंग सेवा प्रदान गर्न निर्देशन दिएको छ । उक्त दिन विहान १० देखि दिउसो साढे १ बजेसम्म आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

‘राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिंग, आरटिजिएस लगायत अत्यावश्यक बैंकिंग सेवा प्रदान गर्न विहान १० देखि दिउसो साढ १ बजेसम्म बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

साथै, विदेशबाट आएको रकम बचत तथा मुद्दती खातामा जम्मा गर्यो भने थप एक प्रतिशत ब्याज दिन बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएको वा खोलिने विप्रेषण रेमिटयान्स बचत खातामा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्नु पर्नेछ ।

सो खाताबाट रकमान्तर गरी खोलिएको मुद्दती खातामा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारको नाममा पठाएको विप्रेषण रकम निजको परिवारले बचत तथा मुद्दती निक्षेप खातामा राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्नु पर्नेछ ।