काठमाडौं – अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली सङ्गीत’गुञ्जिएको छ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मङ्गलवार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’को अवसरमा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा फ्रान्सेली कलाकारहरुको टोलीले साङ्गीतिक प्रस्तुति दिएका थिए ।
अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगको नेतृत्वमा रहेको अन्नपूर्ण सङ्गीत समूहले यस्तो प्रस्तुती दिएको हो । हार्मोनियम, बाँसुरी, गीतारलगायतका नेपाली बाध्यबाधनका साधनको सङ्गीतमा फ्रान्सेली कलाकारहरुले राखेको साङुगीतिक प्रस्तुतिले आधार शिविरमा पुगेका आन्तरिक पर्यटक रमाएका थिए । अन्नपूर्ण हीरक महोत्सव आयोजक समितिका सदस्य तेज गुरुङले यो कार्यक्रमले आफुहरुलाई आगामी दिनमा आधार शिविरमा साङ्गीतिक प्रस्तुतिका कार्यक्रम आयोजना गर्न प्रेरित गरेको बताए ।
सन् १९५०, जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र उनका साथी लुइस ल्याचेनलले विश्वमा पहिलोपल्ट ८ हजार मिटरभन्दा अग्लो हिमाल, अन्नपूर्ण प्रथम (८,०९१ मिटर) को चुचुरोमा पाइला टेकेका थिए । फ्रान्सेली राष्ट्रिय टोलीले अन्नपूर्ण आरोहण गरेको मंगलबार ७५ वर्ष पुग्यो । लुइसले आरोहणको पाँच वर्षपछि ३४ वर्षको उमेर ज्यान गुमाइसकेका छन् । मौरिसले सन् २०१२ मा ९३ वर्षको उमेरमा ज्यान गुमाए ।






About Us
प्रतिक्रिया