काठमाडौं – नेपालको अग्रणी पशु औषधि उत्पादक कम्पनी, कान्तिपुर फर्मास्युटिकल्स ल्याव लिमिटेड (केपीएल) र दक्षिण कोरियाको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी के.वी.एन.पी कोरियाबीच नेपालमा पशु औषधि उत्पादनका लागि एक महत्त्वपूर्ण प्राविधिक सम्झौता (Technical Collaboration) मा हस्ताक्षर भएको छ । नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा आज आयोजित कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल र पशु सेवा विभागका स. सचिव डा.सलिना मानन्धरको उपस्थितिमा कान्तिपुर फर्मास्युटिकल्स ल्याव लिमिटेडका तर्फबाट अध्यक्ष हेमराज बडाल तथा केविएनपी का तर्फबाट हानी स्वङगबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यस ऐतिहासिक सम्झौतासँगै कान्तिपुर फर्मास्युटिकल्सले के. वी.एन.पी कोरियाको अत्याधुनिक प्रविधि र विशेषज्ञता प्रयोग गरी नेपालमै उच्च गुणस्तरको पशु औषधि उत्पादन गर्नेछ । यो सहकार्यले नेपाली पशुपालन क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने, मुख्यतया आयात प्रतिस्थापन गर्ने र नेपाली किसानहरूलाई सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
कान्तिपुर फर्मास्युटिकल्स ल्याव लिमिटेडलाई केबिएनपिले लामो समयदेखि अनुसन्धानात्मक (Research & Development) कार्यहरूमा सहयोग गर्दै आइरहेको थियो। केबिएनपि कोरियाका दक्ष प्रबिधिकहरुबाट सन् २०२५ जनवरी ८ मा केपिएल को क्वालिटी अडिट सफल भएको थियो । सो अडिटको आधारमा कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडसंग केबिएनपीले सहकार्य गरेको कम्पनीका प्राविधिक प्रमुख विवेक सिंह महतले जानकारी दिए । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका अध्यक्ष हेमराज बडालले केबीएनपी कोरिया जस्तो बहुराष्ट्रिय कम्पनीसँगको यो सहकार्य हाम्रो लागि गौरवको विषय उल्लेख गर्दै यसले नेपालमै अन्तर्राष्ट्रियस्तरको पशु औषधि उत्पादन गर्ने हाम्रो क्षमतालाई अभिवृद्धि गर्नेछ र नेपाली पशुधनको स्वास्थ्य सुधारमा ठोस टेवा पुग्ने बताए ।
‘यो प्राविधिक सहकार्यले नेपालको पशु औषधि उत्पादन क्षेत्रमा नयाँ आयाम थप्ने र देशलाई यस क्षेत्रमा आत्मनिर्भर गराई निर्यात तर्फ उन्मुख गराउन मद्दत पुग्ने विश्वास लिइएका छौ’ उनले भने । त्यसैगरी, केबीएनपी कोरियाका हानी स्वङगले भने ‘कान्तिपुर फर्मास्युटिकल्ससँग सहकार्य गर्न हामी उत्साहित र खुसी छौ । नेपालको पशु औषधि बजारमा प्रचुर सम्भावना देखेका छौं र हाम्रो प्राविधिक ज्ञान र कान्तिपुर फर्मास्युटिकल्स ल्याबको गुणस्तरीय उत्पादन प्लान्ट तथा बजार व्यवस्थापन विशेषज्ञताको संयोजनले यहाँ उत्कृष्ट नतिजा दिनेमा विश्वस्त छौं ।’
काभ्रेस्थित पाँचखाल नगरपालिका-७ संचालनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याव लिमिटेड नेपालको एक अग्रणी पशु औषधि तथा पशु आहार पूरक उत्पादक कम्पनी हो । हालसम्म यस कम्पनिमार्फत विभिन्न २६ वटा आहारपुरक पदार्थहरुको विभिन्न नाम तथा ब्रान्डहरुको Supplements हरु बजारमा बिक्री वितरण भई रहेको छ तथा एलोपेथिक औषधि तर्फ ७० वटा विभिन्न औषधिको बजारीकरण अनुज्ञापत्रहरु तथा ४० वटा औषधिको उत्पादन अनुज्ञा पत्रहरु नियमक औषधि व्यबस्था विभाग मार्फत प्राप्त भइ सकेको छ ।
गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिलाई मुल मन्त्र मान्दै कम्पनीले नेपाली पशुपालन क्षेत्रको वृद्धि र आधुनिकीकरणका लागि निरन्तर काम गरिरहेको छ । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड हालै सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने घोषणा पनि गरिसकेको छ । स्थापनाकालदेखि नै पशु स्वास्थ्य सेवामा समर्पित कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले गुणस्तरीय उत्पादन मार्फत नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ । हाल कम्पनीको दुई वटा अत्याधुनिक उत्पादन प्लान्ट सञ्चालनमा रहेको छ जसमा पशु औषधिको व्यावसायिक उत्पादन प्लान्ट (सन् २०२४ अगस्टदेखि व्यावसायिक उत्पादन तथा वितरण सुरु भएको हो भने पशु आहार पूरक (एनिमल फिड सप्लिमेन्ट) उत्पादन प्लान्ट (सन् २०२१ नोभेम्बरदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।
केबिएनपी दक्षिण कोरियाको एक प्रतिष्ठित बहुराष्ट्रिय पशु स्वास्थ्य उत्पादन कम्पनी हो। जसले भेटेरिनरी खोप, औषधि, पोषण पूरक र कीटाणुनाशकहरू उत्पादन गर्छ। सन् १९८८ मा स्थापना भएको यो कम्पनीले Bayer Korea बाट पशु खोप इकाई अधिग्रहण गरी अत्याधुनिक जैविक उत्पादन सुविधा स्थापना गरेको छ। केबिएनपीले पाकिस्तान, इन्डोनेसिया, भारत, भियतनाम, अमेरिका लगायत ३९ देशहरूमा आफ्ना उत्पादनहरू निर्यात गर्दै विश्वव्यापी बजार उपस्थिति बनाएको छ । कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गरी उच्च गुणस्तरका खोप विकास गर्छ, जुन पशु स्वास्थ्य व्यवस्थापनमा उपयोगी छन् । साथै, यसले वातावरणमैत्री दृष्टिकोण अपनाउँदै ग्राहक, कर्मचारी र शेयर धारकहरूको समुन्नत विकासमा लगानी केन्द्रित गरेको छ ।






About Us
प्रतिक्रिया