सिन्धुपाल्चोकको माझी बस्ती कालोसूचीमा परेपछि स्वेता भन्छिन्ः ‘म जिम्मेवार छैन’


काठमाडौं – अभिनेत्री स्वेता खड्काले सिन्धुपाल्चोकको माझी बस्ती कालोसूचीमा पर्नुमा आफू जिम्मेवार नरहेको बताएकी छिन्। माझी बस्ती बैंकको कालोसूचीमा परेको विषयले अहिले सदनसहित देशव्यापी चर्चा भइरहेको समयमा उनले भने यसमा आफू जिम्मेवार नरहेको बताएकी हुन् । 

२०७२ सालको भूकम्पपछि पुनर्निर्माणको प्रक्रियामा फाउन्डेशनले सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिका–१४ डडुवामा ५६ घर माझी बस्ती बनाइदिने सम्झौता गरेको थियो । फाउन्डेशनको सम्झौता बमोजिम ५५ वटा घर बनिसकेको छ । जसमध्ये ३९ वटा घर कालोसूचीमा परेको पुष्टि भएको हो ।

खड्काले माझी बस्तीमा व्यक्तिको व्यक्तिगत कर्जा भएका कारण आफूले तिर्नुपर्ने कर्जा नभएको दाबी गरिन् । उनकाअनुसार बस्तीका मानिसहरूले आफ्नो परिवारलाई नै साँची राखेर लिएको ऋण पनि उनको नाम जोडेपछि मिनाहा हुने आशाले राजनीतिक गरेको देखिन्छ। ‘पहिला पनि उनीहरूले मलाई र बैंकलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए,’ उनले बैंकिङ्ग समाचारसँग भनिन्, ‘अदालतले नै फाउन्डेशन र मैले तिर्ने ऋण होइन भनेको छ ।’

नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले अभिनेत्री स्वेता खड्काका कारण ५५ घर माझी परिवार कालोसूचीमा परेर विस्थापित बनेको बताउँदै आएकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै माझीले भूकम्पबाट घर भत्किएको माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थालेकी खड्काले आफ्नो वचन पूरा नगरी बीचमै छाडेर हिँड्दा सिंगो माझी बस्ती नै कालोसूचीमा आरोप लगाइन् ।

यता स्वेताले भने आफ्नो नाम नै संसद्मा ल्याएर मानहानि गरेको समेत उल्लेख गरेकी छिन् । ‘मैले चाहे भने मानहानिको मुद्दा नै दायर गर्न सक्छु मेरो केही पनि कसुर छैन,’ उनले थपिन्, ‘मैले ऋण तिर्ने भनेर लिएको पनि होइन र मैले गर्नुपर्ने गरिसकेको छु ।’ उनले आफूलाई माझी बस्तीका व्यक्तिहरूले कानूनी हिसाबले नै पनि केही गर्न नमिल्ने उल्लेख गरिन् ।