अर्थतन्त्र तत्काल सुधार गर्नुपर्नेः प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्र तत्काल सुधार गर्नुपर्नेः प्रधानमन्त्री प्रचण्ड


बैंकिङ्ग समाचार, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको समन्वयमा सबै समस्या समाधान गर्ने गरी काम अघि बढेको बताएका छन् । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको पनि उनले बताए ।

सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं लिमिटेडको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अब डिजिटल र नवप्रवर्धवनमा सहज गराउने अभियानमा लाग्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले मर्जरले ठूला परियोजनामा अब वित्तिय लगानी जुटाउन सहज हुने आशा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘बैंक तथा वित्तीय संस्थाहरू देशको आर्थिक गतिशीलताका संवाहक हुन् । बैंकिङ्ग क्षेत्रले दिएको अवसरको सही उपयोग गर्न सकिएमा ऋण तथा लगानीका स्रोतमा पहुँच बढेर अर्थतन्त्रलाई गति मिल्नेछ । र, आम नागरिक र व्यवसायीहरूको उद्यमशीलता समेत बढ्नेछ ।’ 

अर्थतन्त्र तत्काल सुधार गर्न पर्ने देखिएकोले सरकार गठन लगत्तै पहिलो निर्णय यसै सम्बन्धी गरिएको उनले बताए । ‘मर्जरले ठूला परियोजनामा लगानीको स्रोत निश्चित भएको छ, बैंकिङ्ग क्षेत्रमा दखिएको अस्वस्थ प्रतिस्पर्धा हट्दै जाने हाम्रो अपेक्षा छ’, उनले भने, ‘अर्थतन्त्र सुधार गर्ने सरकारको मुख्य एजेन्डा हो, निजि क्षेत्रका माग सम्बोधन गर्न र अर्थतन्त्र सुधार गर्न अर्थमन्त्री, गभर्नर र म आफू स्वयंम बसेर छलफल गरिरहेका छौँ ।’

उनले अर्थतन्त्रमा देखिएका समस्याहरूलाई सुधार गर्नका लागि निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको समेत बताए । अर्थतन्त्र सुधारका लागि मन्त्रीपरिषद्को पहिलो बैठकले समेत निर्णय गरेको उनले जानकारी दिए । निजी क्षेत्रले राखेमा मागहरूलाई सम्बोधन गर्नका लागि सरकार तयार रहेको समेत प्रधानमन्त्री प्रचण्डले आश्वासन दिए ।