एउटै बोटमा तीनदेखि चारवटासम्म घोगालागेपछि किसान उत्साहित


कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बैवाहाका खडकबहादुर चौधरीले पाँच वर्षदेखि वसन्ते मकैखेती गर्दै आएका छन् । वर्णशङकर (हाइब्रिड) १२०८ जातको मकैखेती गरेर उनले चार महिनामा ३० हजारदेखि ७० हजारसम्म आम्दानी गरेका छन् । पाँच कट्ठा जग्गामा लगाइएको मकैको एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लाग्ने गरेको छ ।

उन्नत जातको भन्दा गुणस्तरीय वर्णशङ्कर जातका मकैको खेती गर्दा २५ देखि ३० प्रतिशतले बढी उत्पादन हुने गरेको छ । फागुनको पहिलो हप्ता रोपेको मकै जेठमा उत्पादन लिन सकिने किसान चौधरीले बताए । हरियो मकै खेतबारीबाट नै १० देखि १५ सम्ममा  बिक्री हुने गरेको छ । हरियो बिक्री नभएको मकै पाकेपछि बिक्री गरिँदै आएको उनको भनाइ छ ।

मकैको डाँठ भने मेसिनमा काटेर घरमा पालेका बाख्रा, बङ्गुर, भैँसीलगायत लागि भुसासँगै मिसाएर खुवाउन प्रयोगमा ल्याइने गरिएको शङ्कर चौधरीले बताए । बैवाहाका १५ बढी किसानले चार कट्ठादेखि सात कट्ठा जग्गामा वसन्ते मकैखेती गरेका छन् । मकैको उत्पादन लिएपछि यहाँका किसानले धान रोप्ने भएकाले छोटो अवधिमै पाक्ने मकैखेतीलाई बढावा दिँदै आएका छन् ।