बैंकिङ्ग समाचार, काठमाडौं ।
नक्कली धितो राखेर बैंक अफ काठमाडाँैंबाट साढे २ करोड रुपैयाँभन्दा बढी कर्जा लिएको मुद्दामा उच्च अदालत पाटनले ऋणी सुरेन्द्र श्रेष्ठसहित ६ जनालाई जेलसजाय र जरीवानाको फैसला गरेको छ ।
बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित बैंकका कर्मचारीले भने सफाइ पाएका छन् । बिहीवार उच्च अदालत पाटनका न्यायाधीश द्वय राजेन्द्र खरेल र नरीश्वर भण्डारीको इजलाशले बैंकबाट कर्जा लिएका मुख्य अभियुक्त श्रेष्ठलाई ३ वर्ष कैद सजाय गर्दै ४९ लाख २५ हजार बिगो जरीवाना तोकेको हो ।
२०७६ सालमा बैंक अफ काठमाडौं कमलपोखरी शाखाप्रमुख प्रतीक श्रेष्ठको जाहेरीले नेपाल सरकार वादी रहेको बैंकिङ कसूरको मुद्दामा तत्कालीन सीईओ श्रेष्ठ तथा ऋणी श्रेष्ठसहित १६ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो । २०७१ सालमा व्यापारी श्रेष्ठले बैंक अफ काठमाडौंबाट झापा जिल्लाको खोला नजिक रहेको जमीन धितो राखेर कर्जा लिएका थिए ।
उक्त कर्जाको साँवा र ब्याज भुक्तानी नभएपछि बैंक र सरकारी टोलीले खोजी गर्दा नक्कली धितो कायम गरिएको तथ्य फेला परेको थियो । सोही तथ्यका आधारमा ऋणी र बैंकका कर्मचारीले मिलेमतो गरी कर्जा लिएको दाबीका साथ मुद्दा दायर गरिएको थियो । मुद्दा दायर हुने बेला सीईओ श्रेष्ठले बैंक छोडिसकेका थिए । अदालतले बैंकका सबै कर्मचारीलाई सफाइ दिए पनि कर्जा लिँदा सघाउने ६ जनालाई भने कसूरको आधारमा फरकफरक सजाय गरेको छ ।
प्रतिक्रिया