अब सवारी लाइसेन्सको अवधि १० वर्षको हुने


काठमाडौं – सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । प्रतिनिधि सभाले सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ ।

यसलाई बदलेर केही नेपाल ऐन संशोधन विधेयकमार्फत १० वर्ष बनाइएको हो । यो प्रस्तावसहितको विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो । पारित विधेयक अनुसार नविकरण गर्दा पनि दश वर्षका लागि नविकरण हुनेछ ।

यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएका थिए ।२६ वैशाख २०८० मा यो विधेयक प्रतिनिधि सभामा दर्ता भएको थियो ।

दफाबार छलफलका लागि प्रतिनिधि सभाले विषयगत समितिमा २९ भदौ २०८० मा पठाइएको थियो । समितिबाट पास भएर सभामा १४ वैशाख २०८१ मा पुगेको थियो । मंगलबार प्रतिनिधि सभाले पारित गरेको छ ।