रवि लामिछानेको मानवअधिकार हनन् भएको भन्दै रास्वपाले गरायाे ध्यानाकर्षण


काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पछिल्लो पटक पक्राउ गर्ने क्रममा मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । लामिछानेलाई गत शुक्रबार राति पक्राउ गर्ने क्रममा प्रहरीले सामान्य कानुनी प्रक्रिया पनि पूरा नगरेको भन्दै रास्वपाले बुधबार निवेदन दर्ता गरेकाे हाे ।

राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षण गराइएको छ । असंवैधानिकर गैरकानुनी रूपमा अभद्र तरिकाले प्रस्तुत हुनु र सामान्यतः मृत्युदण्ड दिन फाँसीमा चढाइने व्यक्तिलाई अन्तिम अवस्थामा जल्लादले सोध्ने जस्तो भाषामा ‘अन्तिम इच्छा के छ’ भन्दै सोध्ने जस्तो कार्यले सभापति लामिछानेको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको मात्र उल्लंघन भएको छैन जीउ ज्यानसमेत असुरक्षित भएकोतर्फ संकेत गरेको छ।

‘यसरी उहाँको मानवीय सम्मान वा आत्मसम्मानमा चोट पुगेको र उहाँको जिउ-ज्यानको समेत असुरक्षाको स्थिति उत्पन्न भएकोले जिउ- ज्यान सहित मानवअधिकारको रक्षार्थ नेपालको संविधानको धारा २४ (१) (२) र (३) को प्रयोग गरी आवश्यक अनुसन्धान समेत गरी गराई न्यायोचित कामकारवाही गरिदिनु हुन सादर निवेदन गर्दछौं।’ रास्वपाले पेश गरेकाे निवेदनमा भनिएकाे छ ।