नेपाल राष्ट्र बैंककाे रिपाेर्ट भन्छ : एक वर्षमा शङ्कास्पद कारोबार गर्नेहरू २४ प्रतिशतले बढे

नेपाल राष्ट्र बैंककाे रिपाेर्ट भन्छ : एक वर्षमा शङ्कास्पद कारोबार गर्नेहरू २४ प्रतिशतले बढे


काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । वित्तीय इकाईले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । सो प्रतिवेदनमा इकाईको वार्षिक काम कारबाही तथा नेपालको सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसम्बन्धी विवरण तथा जानकारी दिएको छ ।

केन्द्रीय बैंकद्वारा सार्वजनिक प्रतिवेदनमा यतिबेला सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने रिपोर्टिङ्गका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध सूचक संस्थाहरू, कानून कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा सङ्ख्या १,६३९ पुगेको देखाएको छ ।

त्यस्तै, सूचक संस्थाहरूले इकाईमा सम्प्रेषण गरेका शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको संख्या आ.व. २०७९/८० मा ५,९३५ रहेकोमा आ.व. २०८०/८१ मा सो सङ्ख्या करिब २४ प्रतिशतले वृद्धि भई ७,३३८ पुगेको छ । यसरी प्राप्त गरिएका अधिकांश श‌ङ्कास्पद कारोबार / गतिविधि प्रतिवेदनहरू कर छलीसम्बन्धी, मौद्रिक/बैंकिङ्ग/विदेशी विनिमय/बीमा/सहकारी सम्बन्धी, ठगीसम्बन्धी, चिठ्ठा र जुवा/ सट्टेबाजीलगायत सम्बद्ध कसुरसँग सम्बन्धित रहेको देखिएको छ ।

सो रिपोर्टका अनुसार प्राप्त शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमध्ये गत वर्षभन्दा ३४ प्रतिशतले वृद्धि भई आ.व. २०८०/८१ मा जम्मा विश्लेषण भएको सङ्ख्या १,६३२ पुगेकोमा सो मध्ये ८८९ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्नेरअनुसन्धानकारी निकायमा तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरिएको छ। सो मध्ये ७४६ वटा प्रतिवेदन इकाईले भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ ।