शेरचनले छाडे बैंकर्स संघको अध्यक्षको दावी, कोइराला अध्यक्षमा पक्कापक्की

शेरचनले छाडे बैंकर्स संघको अध्यक्षको दावी, कोइराला अध्यक्षमा पक्कापक्की


काठमाडौं – नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला हुने पक्कापक्की भएको छ । आज भएको सहमतिमा यसअघि दावी गरेका प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्षको दावी छाडेसँगै कोइराला अध्यक्ष हुने पक्कापक्की भएको हो ।

संघमा उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रचलन रहेको छ । संघको उपाध्यक्ष नै अध्यक्ष हुने हुँदा शेरचनले अध्यक्षको दावी फिर्ता लिएका हुन् । गत साता नै संघको अध्यक्षका लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उम्मेद्वारी दर्ता गराएका थिए ।

वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघले आगामी पुस ३ गते बोलाइएको ३८ औं साधारण सभा सभाबाट संघको नयाँ नेतृत्व चयन हुने भएको हो । हाल एनएमबी बैंकका सीईओ सुनिल केसी संघको अध्यक्ष छन् । संघको २०७९ को विशेष साधारण सभाले केसीलाई अध्यक्ष चुनेको हो । उनी दुई वर्षे कार्यकालका लागि संघको अध्यक्ष भएका थिए ।

संघको कार्यसमितिमा अध्यक्ष सुनिल केसी, निवर्तमान अध्यक्षको हैसियतमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, उपाध्यक्ष सन्तोष कोइराला र सदस्यहरुमा अशोक शेरचन, नेपाल एसबीआई बैंकका सीईओ दीपक कुमार दे, सानिमा बैंकका सीईओ निश्चल राज पाण्डे, प्राइम कमर्सियल बैंकका सीईओ सन्जिव मानन्धर, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ, सिद्धार्थ बैंकका सीईओ सुन्दर प्रसाद कँडेल र सल्लाहकारमा हिमालयन बैंकका सीईओ अशोक राणा रहेका छन् ।