काठमाडौं -नेपाल सरकारले छिमेकी राष्ट्र चीनसँग हस्ताक्षर गरेको बेल्ट एन्ड रोड (बीआरआई) कोओपरेसन फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले आज आफ्नो वेबसाइटमा बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको हो।
फ्रेमवर्क अन्तर्गत १० वटा परियोजनाहरुलाई समावेश गरिएका छन्। यसमा टोखा-छहरे सुरुङमार्ग, हिल्सा-सिमिकोट सडक परियोजना, किमाथांका-खाँदबारी सडक र किमाथांका पुल तथा आईसपी परियोजना, चीन-नेपाल क्रस बोर्डर रेलवे परियोजना (नेपालतर्फ) र अमरगढी सिटी हल परियोजना रहेका छन् ।
त्यस्तै, जिलोङ-रसुवागढी चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइन, मदन भण्डारी विश्वविद्यालाय, काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन-नेपाल मैत्री औद्योगिक पार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स रहेका छन्।
सम्झौतामा भनिएको छ, ‘चिनियाँ पक्षले बेल्ट एन्ड रोड संयुक्त रूपमा निर्माण गर्ने ढाँचाअन्तर्गत नेपालको विकास प्रयासलाई प्राविधिक र आर्थिक सहयोग प्रदान गर्नेछ। दुवै पक्षले प्राविधिक सहयोग सुनिश्चित गर्न र सार्वभौम प्रारम्भ गरिएका परियोजनाहरूका लागि दुवै पक्षको आवश्यकताहरू अनुरूप गर्ने सहायता मोडालिटीहरू सुनिश्चित गर्न काम गर्नेछन्।’
गत मंसिर १९ गते बुधबार बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकार बीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले मंसिर १७ देखि २० गतेसम्म चीन भ्रमण गरेको थियो। सहकार्यको चौथो प्राथमिकतामा व्यापार, औद्योगिक क्षमता तथा लगानीको क्षेत्र छुट्याइएको छ।
यस्ताे छ बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको (पूर्णपाठ)
प्रतिक्रिया