प्रधानमन्त्री ओली बेइजिङमा

प्रधानमन्त्री ओली बेइजिङमा


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङ पुगेका छन् । सोमबार बिहान चीनको औपचारिक भ्रमणका लागि नेपालबाट प्रस्थान गरेका प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ पुगेका हुन् । प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जनपिङसँग पनि भेट गर्ने कार्यक्रम छ। यस्तै, प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन्।

प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ।भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै, उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते काठमाडौं फर्कने तालिका छ।