५० करोड रुपैयाँकाे वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै सरकार

५० करोड रुपैयाँकाे वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै सरकार


काठमाडौं –  सरकारले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आजदेखि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन तथा बिक्री गर्न लागेको हाे । कार्यालयले पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र–२०८६ निष्कासन गर्न लागेको हो ।

बचतपत्र मंसिर आजदेखि पुस १४ सम्म खुला रहनेछ । कार्यालयले वार्षिक ८.५ प्रतिशत ब्याजदर रहेको बचतपत्र न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरेको रकमसम्म लगानीकर्ताले खरिद गर्न पाउनेछन् ।

बचतपत्रमा वैदेशिक रोजगारी गरिरहेका, नेपाल फर्केको ६ महिना नबितेका, गैरआवासीय नेपाली र तिनका परिवारले लगानी गर्न पाउने छन् । बचतपत्रमा लगानी गर्नेले अर्धवाषिर्क रूपमा ब्याज भुक्तानी पाउनेछन् ।

त्यस्तै, बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र जुनसुकै बेला दोस्रो बजारमार्फत खरिदबिक्रीसमेत गर्न सकिने कार्यालयले जनाएको छ । सरकारले आन्तरिक ऋण उठाउने एक माध्यमको रूपमा बचतपत्र उपकरणको प्रयोग गर्ने गर्दछ ।