सुपर लघुवित्तमा २३ करोड अनियमितता

सुपर लघुवित्तमा २३ करोड अनियमितता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं।

दाङमा रहेको सुपर लघुवित्तमा २३ करोड अनियमिता भएको घटनामा संस्थाका कायम मुकायम सीईओ सहिति ३ जना प्रक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कामु सीईओ बुद्धिराम चौधरी, तुल्सीपुर शाखामा कार्यरत सन्जिव चौधरी र बिजौरी शाखाका प्रमुख यशोदा थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

एसपी काफ्लेका अनुसार प्रक्राउ परेका व्यक्तिहरुको विषयमा थप अनुसन्धान भइरहेको छ । उनीहरुसहित संस्थाको रकम अनियमितता गरेको आरोपमा १० जनाका विरुद्धमा मुद्धा परेको प्रहरीले जनाएको छ ।

अन्य व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । अहिले प्रक्राउ परेका व्यक्तिहरु मार्फत अरु व्यक्तिहरु पनि प्रक्राउ पर्ने एसपी काफ्लेले बताए ।

कसरी भयो अनियमितता ?

सुपर लघुवित्त वित्तीय संस्थामा अध्यक्ष किरण चौधरीको प्रत्यक्ष संलग्नतामा रकम हिनामिना भएको उजुरी परेपछि राष्ट्र बैंकको सुपरीवेक्षण विभागले अनुसन्धान गरेको थियो ।

संस्थाको कुल ७२ करोड रुपैयाँ ऋण मध्ये आधा भन्दा धेरै फर्जी कागजात बनाएर कृत्रिम व्यक्तिलाई ऋण लगानी गरिएको राष्ट्र बैंकको अनुसन्धानबाट देखिएको स्रोतले जनाएको छ । यो संस्था गैर सरकारी संस्था (एनजिओ) बाट लघुवित्त बनेको थियो ।

दाङको तुलसीपुर केन्द्रीय कार्यालय रहेको यस लघुवित्तको हाल अध्यक्ष किरण चौधरी रहेका छन् । संस्थाका अध्यक्ष भन्दा पनि अध्यक्षका बुवा ज्योति चौधरीले संस्थामा प्रत्यक्ष हस्तक्षेप गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको छ ।

संस्थामा अनियमितताको सूचना भए पछि राष्ट्र बैंकको टोलि निरीक्षण समेत गरेको थियो । तर संस्थाका अध्यक्ष चौधरीले अनुसन्धानमा असहयोग गरेका थिए । उनले कार्यरत कर्मचारीहरुलाई समेत दवाव दिएर फर्जी काम गर्न लगाउने गरेका थिए ।

अनुसन्धानमा संलग्न राष्ट्र बैंकका एक अधिकारीका अनुसार अध्यक्ष चौधरीले सफ्टवेयरमा दबाव दिएर गलत इन्ट्री गर्न लगाउने त कहिले आफै सफ्टवेयर ह्याण्डल गरेर मनपरी इन्ट्री गर्ने गरेका थिए ।

यस संस्थामा प्रभु बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आरएसडीसी लघुवित्त लगायतले ऋण लगानी गरेका छन् । यो संस्थालाई प्रभु बैंकले मात्रै २५ करोड रुपैयाँ भन्दा बढी ऋण दिएको छ ।

यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धना ब्युरो (सीआईबी) ले समेत अनुसन्धान गरिरहेको छ ।