काठमाडौं – मेरो माइक्रोफाइनान्सका कर्मचारीले महोत्तरी जिल्लाको गौशालास्थित एक परिवारको उठिबास लगाएका छन् । मेरो माइक्रोफाइनान्सका ईमलि बजार गौशाला नगरपालिका महोत्तरीका शाखा प्रबन्धकले एक स्थानीयवासीको उठिबास लगाइदिएका हुन् ।
सो शाखाका प्रबन्धक रामशंकर महतोले पहिलादेखि नै धितो रोक्का रहेको १३ धुर जग्गामा थप १० लाख कर्जा मिलाइदिने झुटो आश्वासन दिएको पीडित सरोज महतोले बताएका छन् । उनले माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृतलाई लेखेको पत्रमा शाखा प्रबन्धकले थप कर्जा मिलाइदिने भन्दै जालसाजी ढंगमा घरबारी पनि रोक्का राख्न लगाएर कर्जा प्रवाह नगरी मानसिक तनाव दिएको उल्लेख छ ।
आफू र आफ्नो परिवारलाई पनि अभद्र व्यवहार गर्नेदेखि मानसिक तनाव दिएर आत्महत्या गर्नुपर्ने स्थितिमा पुर्याएको पत्रमा उल्लेख छ । सोहीकारण सम्बन्धित शाखा प्रबन्धकमाथि कारबाहीका लागि प्रमाणसहित निवेदन दिएको पीडितले उल्लेख गरेका छन् ।
भएको के थियो ?
उक्त संस्थाले २०७९ जेठ १९ गते १३ धुर जग्गा मालपोतमा ५ लाखमा रोक्का राखेर ३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त रकम व्यवसाय सञ्चालन गर्नका लागि लिएको र सो कर्जाको किस्ता हरेक महिना समयमा नै भुक्तानी भइरहेको थियो । त्यसबीचमा संस्थाले थप २ लाख कर्जा थप्ने आश्वासन दिएपनि कर्जा दिएन । तर, आर्थिक मन्दी, व्यवसाय ठप्प, परिवारको स्वास्थ्य लगायतका कारणले समयमा किस्ता हाल्न नसकेको पीडितको दाबी छ ।
त्यसपछि आर्थिक दायित्व पुरा गर्न अन्तिम विकल्प घरबारी भएको जग्गा मात्रै बाँकी रहेकाले सो जग्गा बिक्री वा कुनै बैंक तथा वित्तीय संस्थामा राखेर कर्जा तिर्ने योजना सरोजको परिवारले बुनेको थियो । तर, रामशंकर महतोले सम्पूर्ण परिवारलाई जालसाजी ढंगमा आफ्नो संस्थाबाट थप १० लाख कर्जा मिलाइदिने भन्दै आश्वासन दिएर घरबारी रोक्का गरेको पीडितको दाबी छ।
पीडित परिवारले शाखा प्रबन्धकविरुद्धको पत्रमा नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय, राष्ट्रिय मानवअधिकार अयोग लगायतलाई बोधार्थ गरेका छन् । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लघुवित्त वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति तथा नेपाल लघुवित्त बैंकर्स संघलाई समेत बोधार्थ गरिएको छ ।
प्रतिक्रिया