काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् । शुक्रबार नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरुबारे नेपाली कांग्रेसले बानेश्वरमा गरेको कार्यक्रममा अध्यक्ष ढकालले सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने बताए ।
सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने बताउँदै अध्यक्ष ढकालले यदि कुनै ठाउँमा बदमासी छ भने त्यसलाई नियन्त्रण गर्न सकिने, तर समग्र निजी क्षेत्रको मानमर्दन गर्न नमिल्ने बताए । उनले व्यवसाय दर्ता, नविकरण वा राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्नेमा पनि जोड दिए ।
साना उद्यमीलाई परियोजना धितोमा कर्जा दिनुपर्ने आवश्यकता औंल्याउँदै महासंघले यसको जोखिम न्युनीकरण र सञ्चालनका लागि अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको उनले जानकारी दिए । नेपाल दुई वर्षपछि विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने कुरामा योजना आयोगको रणनीतिले जोखिम न्यूनीकरण गर्न सक्षम नभएको उनको टिप्पणी छ ।
ढकालले निजी क्षेत्र रणनीति बनाउन तयार रहेको बताउँदै २०२१ मै यस सम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गरेको स्मरण गराए ।
प्रतिक्रिया