विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : प्रचण्ड

विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : प्रचण्ड


काठमाडाैं – माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरू एकताको प्रक्रियामा रहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज पार्टी कार्यर्ताहरूसँगको भेटघाट तथा छलफलमा प्रचण्डले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताए ।

उनले भने, ‘अब मिल्नुको विकल्प छैन, विभाजनको शृङ्खला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन ।’ देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले भने, ‘हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले विस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन् ।’

अहिलेको निर्वाचन प्रणालीले राजनीतिक भ्रष्टाचार बढाउने उनको भनाइ थियो । कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रष्ट पार्न अध्यक्ष दाहालले निर्देशन दिए ।