साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना


काठमाडाैं – नेपाल उद्योग वाणिज्य महासंघमा लघु घरेलु तथा साना मझौला उद्यम बिकास केन्द्र स्थापना भएको छ । केन्द्रको उदघाटन सोमबार राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण राउत र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त रुपमा गरेका हुन् ।

केन्द्रले व्यवसाय सञ्चालनका लागि आवश्यक सीप, प्रविधि र तालिम प्रदान गर्नेछ । साथै, उद्यमीहरूलाई सशक्त बनाउनका लागि बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन, र व्यवसाय रणनीतिसम्बन्धी सहायता पनि उपलब्ध गराउने भएकाे छ ।

केन्द्रले उत्पादन क्षमता बढाउन र गुणस्तर सुधार गर्न प्राविधिक सल्लाह तथा उपकरणहरू उपलब्ध गराउनुका साथै आधुनिक उत्पादन प्रविधि, यसको प्रयोग र प्रक्रियागत सुधारहरू अपनाउन सहयोग गर्ने पनि बताइएकाे छ । केन्द्रले उत्पादित सामग्रीलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन, व्यापार मेलाहरू, प्रदर्शनीहरू, र अन्य व्यापार प्रवर्द्धन कार्यक्रममा सहभागी गराई बजार विस्तार गर्न पनि सहजीकरण गर्ने महासंघले जनाएकाे छ ।

लघु, घरेलु, साना तथा मझौला उद्यम विकास केन्द्रले व्यवसाय सञ्चालन, व्यवस्थापन, उत्पादन, र विपद् व्यवस्थापनका लागि सल्लाहकारहरूको परामर्श सेवा पनि उपलब्ध गराउनेछ ।

यसले व्यवसायसम्बन्धी समस्या समाधान गर्न र कानुनी सल्लाह प्रदान गर्न मार्गदर्शन गर्नेछ । केन्द्रले उद्यमीहरूलाई व्यवसाय दर्ता, अनुमतिपत्र प्राप्ति, करसम्बन्धी जानकारी र सरकारी नियमको पालना गर्न सहयोग गर्ने महासङ्घको भनाइ छ ।