काठमाडौ – उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधामा संलग्न देश विदेशमा ख्याति प्राप्त संस्थाहरू, विषय विज्ञ तथा व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजनाग गर्न लागिएको उक्त सम्मेलन आउँदो मंसिर २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
नेपाल इन्टरनेशनल एडिआर सेन्टरले आयोजनामा चार दिनसम्म चल्ने सम्मेलनको नारा ‘विवाद समाधानको आधुनिकीकरणः न्यायमा पहुँच अभिवृद्धिका लागि एडीआरको भूमिका’ रहेको महासचिव वरिष्ठ अधिवक्ता मातृका प्रसाद निरौलाले जानकारी दिए । सम्मेलनमा विश्वका करिव १६ देशका वक्ताहरुको सहभागिता रहने उनले बताए ।
नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा जापान, स्वीजरल्याण्ड, अष्ट्रेलिया, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंकालगायत करिव १६ मुलुकबाट प्रतिनिधित्व हुने महासचिव निरौलाले जानकारी दिए । सम्मेलनको उद्घाटन सत्रपछि, पूर्ण शत्र, समूह छलफलका सत्रहरु, अतिथि वक्ताको प्रस्तुतीसहित चार दिनसम्म कार्यक्रम संचालन हुनेछ ।
कार्यक्रममा करार सम्बन्धी विवाद, विकास निर्माण सम्बन्धी, लगानी सम्बन्धी विवाद, संयुक्त राष्ट्र संघका मोडल कानून सम्बन्धी व्यवस्था र मध्यस्थता एवम मेलमिलाप सम्बन्धमा न्यायपालिकाको भूमिका लगायतका विषयमा छलफल हुनेछ । नेपाललाई विवाद समाधानको आकर्षक गन्तब्यका रुपमा विकास गराउने सम्मेलनको लक्ष्य रहेको छ ।
विभिन्न मुलुकबाट आएका विज्ञहरुको राय सुझाव संकलन गरी नीति निर्माण तहमा सिफारिस गर्ने समेत उद्देश्य आयोजकले राखेको छ । ‘नेपाल मध्यस्थ अवार्ड कार्यान्वयन सम्बन्धी न्यूयोर्क अभिसन्धीको पक्ष राष्ट्र हो तर त्यो भन्दा उपयोगी र आकर्षक मेलमिलाप सम्बन्धी सिंगापूर अभिसन्धी २०१८ को अनुमोदन गरेको छैन,’ निरौलाले भने ।
प्रतिक्रिया