काठमाडौं– यसपटकको दसैं तथा तिहारमा नाेट खपत घटेकाे छ । हरेक वर्ष दसैं, तिहार लक्षित गर्दै नयाँ नोट सटही सुविधा दिने नेपाल राष्ट्र बैंकले यसपटक सुकिला नोट दिएसँगै नाेट खपत घटेकाे हाे । केन्द्रीय बैंकले सुकिला नाेट दिएसँगै प्रत्येक वर्षको दसैं र तिहारमा नयाँ नोटको प्रयोग गर्दै आइरहेका सर्वसाधारणको मनोभावमा ठेस पुगेको देखियो । फलस्वरूप: दसैंमा नयाँ नोट नपाएपछि सर्वसाधारणले नोट सटही २६ अर्ब रुपैयाँले घटाएका हुन्।
राष्ट्र बैंकले नयाँ नोट छाप्दा बढी खर्च हुने भएकाले नोट नछापेको साथै यसपटक नयाँ नोट नछाप्दा राज्य कोषको २ अर्ब जोगिने जनाएको थियो । गत वर्ष राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले २९ अर्ब रुपैयाँ बढी नोट सटही गरेकामा यसपटक ३ अर्ब रुपैयाँ बढी मात्रै सटही भएकाे राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले २०६०/६१ देखि नयाँ नोट सटहीको सुविधा दिएको थियो । त्यसअघि पनि केन्द्रीय बैंकले सिमित मानिसहरुलाई भने नयाँ नोट दसैंमा प्रदान गर्दै आएको थियो । वर्षेनी ६० देखि ७० अर्ब रुपैयाँ बराबरका नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिने गरेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले २०७७ सालमा पनि नयाँ नोट बाडेको थिएन ।
प्रतिक्रिया