काठमाडौ– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको छ । रविलाई बयानका लागि रुपन्देही लैजाने क्रममा बुद्ध एयरको जहाजबाट भैरहवा लैजान लागिएको हो ।
लामिछाने चढेको जहाज ७ बजे उड्ने तय भएपनि खराब मौसमका कारण १२ बजेपछि मात्रै उडेको हो । भैरहवा र पोखरा दुवै विमानस्थलमा ‘भिजिबिलिटी’ कम हुँदा उडान–अवतरण हुन सेकको थिएन । अहिले मौसम खुलेपछि उडान सुरु भएको हो ।
गत कात्तिक २ गते लामिछानेलाई पार्टी कार्यालय चस्मतिबाट पक्राउ गरी कास्की लगिएको थियो। उनीमाथि चौथो पटक कास्की अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
रुपन्देही जिल्ला अदालतबाट प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न हिरासतमा रहेका लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति लिइसकेको छ।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन्। बञ्जाडेलाई यसअघि नै रुपन्देही ल्याएर बयान गरि कास्की पठाइ सकिएको छ।
प्रतिक्रिया