राष्ट्रिय वाणिज्य बैंकद्वारा ११७ जना नवनियुक्त अधिकृतहरूलाई पूर्व सेवाकालीन तालिम

राष्ट्रिय वाणिज्य बैंकद्वारा ११७ जना नवनियुक्त अधिकृतहरूलाई पूर्व सेवाकालीन तालिम


काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले ११७ जना नवनियुक्त अधिकृतहरूलाई पूर्व सेवाकालीन तालिम दिएको छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रूपमा छनौट भएका ११७ जना नवनियुक्त अधिकृतहरूलाई चौध दिने पूर्व सेवाकालीन तालिम बिहीबारबाट काठमाडौंमा सञ्चालन गरिरहेको छ ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले प्रतिस्पर्धी बजारमा बैंकले लिएको उद्देश्य कार्यान्वयनमा यो ठुलो सङ्ख्याको जनशक्तिको भूमिका महत्त्वपूर्ण हुने बताए ।

जनताको ठुलो विश्वास बैंक प्रति रहेको हुँदा व्यवसायीक ढंगबाट कार्य गर्ने सोच बनाउनु पर्ने बताए । उनले विभिन्न प्रक्रिया पश्चात् बैंकले एक पटक ठुलो सङ्ख्यामा युवा अधिकृतहरूलाई नियुक्ति दिएर बैंकिङ्ग क्षेत्र मार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको बताए ।

अरू सहायक स्तरका कर्मचारीहरूको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि बैंकले दिने सेवा र उत्पादकत्व बढ्ने बताए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खनालले नवनियुक्त सहायक प्रबन्धक, उप प्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक तहका जम्मा ११७ जना अधिकृतहरूलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराएका थिए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त अधिकृत कर्मचारीहरूलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतरु पवन रेग्मी, विनय रमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा र तालिम तथा सिकाई विकासका विभागीय प्रमुख पद्मा लक्ष्मी जि.सी. लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।