पाँच वटा बैंकको लाभांश घोषणा, कुनको कति ?


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत २० वटा वाणिज्य बैंक तथा १८ वटा विकास बैंकहरुमध्ये हालसम्म पाँच वटा बैंकहरुले लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०८०/ ८१ को वित्तीय कारोबारबाट प्राप्त नाफाबाट एक विकास बैंकसहित चारवटा वाणिज्य बैंकहरुले लाभांश वितरणको घोषणा गरेका हुन् ।

वाणिज्य बैंकहरुमा ग्लोबल आईएमई बैंक, सानिमा बैंक, सिटिजन्स् बैंक र एभरेष्ट बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरणको घोषणा गरेका छन् भने विकास बैंकहरूमा हालसम्म कामना सेवा विकास बैंकले नगदसहित बोनस सेयर वितरणको घोषणा गरेको छ ।

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगदसहित १२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । प्रस्तावित लाभांश नियामक केन्द्रीय बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभग्राही सेयरधनीहरुमा वितरण हुनेछ ।

ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि ५.५ प्रतिशत मात्र लाभांश वितरणको प्रस्ताव गरेको छ । २०८१ असोज २२ गते लाभांश वितरणको घोषणा गरेको बैंकले सेयरधनीलाई सिधै ५.५ प्रतिशत बोनस सेयर प्रदान गर्ने जनाएको छ । एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट १५.५३ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश प्रदान गर्ने जनाएको हो ।

सानिमा बैंकले यो वर्ष नगद लाभांश मात्र वितरण गर्ने भएको छ । बैंक आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको हो ।

सिटिजन्स् बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ । अघिल्लो वर्ष ५.७९ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको बैंकले यो वर्ष ४ प्रतिशत बोनस सेयरसहित ०.२१ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । लाभांश घोषणा भएका बैंकमध्ये सानिमा बैंक र ग्लोबल आइएमई बैंकले बुक क्लोज मिति तय गरेका छैनन् ।