गण्डकी – झरी थामिएपछि आज घमाइलो बिहानमा मनहरि भण्डारी गोठबाट गाई दुहेर घर फर्कँदै थिए । यत्तिकैमा हामीले उनलाई सोध्यौँ, ‘गाईले कति दूध दिन्छ बुबा ?’ ६० वर्षीय भण्डारीले भने, ‘एक साँधमा चार लिटर, दिनको १२ माना जति हुन्छ ।’ यति भनिसक्दा बाल्टीको दूध कुँडेमा खनाएर उनी अगेनातिर गए ।
फलामको कराइमा रैथाने बोकाको पाकिरहेको मासु बिस्तारै चलाउँदै भण्डारीले सुनाए, ‘यो चुलोमा खाना पकाउन लागेको २० वर्ष भयो, सबै खानेकुरा दाउराको आगोमा पकाउँछौँ ।’ भान्छाको काम छिमल्दै उनले केही बेर हामीसँग कुराकानी गरे । ‘पुरानो घरमा किराना र कपडा पसल थियो, पछि खाजा घर सञ्चालन गर्ने सोच आयो, यहाँ आएपछि चिनारी र सफलता दुवै मिल्यो ।’
मध्य पहाडी राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नाग डाँडाका भण्डारीले २२ वर्षअघि यो घर किन्दा वरिपरि वन पाखा मात्र देखिन्थ्यो । पक्की घर बनिसकेका थिएनन् । धवलागिरि क्षेत्र जोड्ने उक्त राजमार्ग भएकाले सो क्षेत्र हुँदै यात्रुको आवतजावत भने बाक्लै हुन्थ्यो । नजिकैको पर्यटकीय सहर पोखराबाट घुमफिरका लागि पनि मानिस नाग डाँडासम्म पुग्थे ।
पुर्ख्यौली थलो नजिकै राजमार्गछेउ घर किनेका भण्डारीले राजमार्गका यात्रु र अन्य पाहुनालाई लक्षित गाउँले प्रकृतिको खाजा घर सञ्चालन गरे । ‘हाम्रो भण्डारी खाजा घर’का नाममा रहेको उक्त खाजा घरलाई कतिपयले ‘भण्डारी बा’को खाजा घर पनि भन्छन् । पाको उमेरमा खाजा घरमा गाउँले स्वाद पस्किरहेका उनले २० वर्षदेखि राजमार्गका पाहुनाको मन जितिरहेको छ ।
राजमार्गमा यात्रुको चापसँगै पर्यटकीय गतिविधि बढेपछि खाजाघरको क्षमता विस्तार गर्दै लगेको उनले बताए । यात्रुदेखि अन्य पाहुना त्यहाँको रैथाने जातको बोका र कुखुराका परिकारमा बढी लोभिने गर्छन् । खानादेखि खाजाका सबै परिकार दाउराको आगोमा पकाएर पस्कने गरेको भण्डारीले बताए । जैविक र गाउँले स्वादका कारण उक्त खाजा घर ग्राहकको रोजाइमा परेको हो । ‘स्थानीय खानाका परिकार पाहुनालाई टकार्छौँ’, उनले भने, ‘भात पनि रैथाने जेठो बुढो, पहेँलेलगायत चामलको पकाउँछौँ ।’
खाजा घरमा पाइने तातो दूधले पनि पाहुनालाई लोभ्याउने गरेको छ । स्थानीय किसानकहाँबाट ल्याइने भैँसी र गाईको दूध पाहुनाले स्वाद मानेर खान्छन् । खाजा घरमै बसेर दूध पिउनेदेखि किनेर घरमा लैजानेसम्मको सुविधा रहेको उनको भनाइ छ । मासु, तरकारी लाई चाहिने मरमसला पनि सिलौटामा पिन्ने गरेको उनले सुनाए ।
लसुन, प्याज पनि गाउँघरकै प्रयोग गर्ने गरिएको भण्डारीले सुनाए । यामअनुसार गाउँमा उब्जेको तरकारी पनि उनले बिक्रीमा राख्दै आएको छ । लेकाली निगुरो, काँक्रो, घिरौँलालगायत हरियो तरकारी अहिले पनि बेचिरहेको भण्डारीले बताए ।
‘बजारबाट हामीले धेरै सामान किन्दैनौँ, भान्छामा अधिकांश थानीय उत्पादनको प्रयोग हुन्छ’, उनले भने, ‘ग्राहकले हाम्रो खाना र आतिथ्यता संस्कारलाई मन पराइदिनुभएको छ, यसमै हामी खुसी छौँ, व्यवसायबाट हाम्रो परिवार सन्तुष्ट छ ।’
खाजा घरमा मासुभातको चार सय ५० र मासु चिउराको दुई सय ५० मूल्य तोकिएको छ । पाहुनाको माग हुँदा अन्य हलुका चियाखाजा पनि उपलब्ध गराउने गरेको भण्डारीले बताए । भण्डारीलाई व्यवसायमा श्रीमती चन्द्रकला, छोरा सुदर्शन, सुनिल र बुहारी बिमलाले सघाउँदै आएको छ । दैनिक एक सयभन्दा बढी पाहुनालाई खाजाघरले सेवा पु¥याउँदै आएको छ ।
‘धेरैजसो यहाँ खाजाका लागि आउनुहुन्छ, खाना खानेको सङ्ख्या केही कम छ’, भण्डारीका छोरा सुनिलले भने, ‘विशेष गरी दाउराको चुलोमा पाक्ने स्थानीय जातको बोका र कुखुराका परिकार पाहुनाको रोजाइमा पर्ने गरेको छ ।’
इञ्जिनियर विषयको पढाइ पूरा गरिसकेका सुनिल पनि अहिले बुबासँगै सोही व्यवसायमा जोडिएको छ । दसवर्ष विदेश बसेर फर्किएका भण्डारीका जेठा छोरा सुदर्शन पनि अहिले घरमै बसेर सोही व्यवसायमा हातेमालो गरिरहेको छ ।
‘घरपरिवारको राम्रो साथ र सहयोग छ’, भण्डारीले भने, ‘भान्छामा म आफै पकाउँछु, मैले नभ्याउँदा श्रीमतीले सघाउँछिन्, छोराछोरी पनि काममा उत्तिकै खटिन्छन् ।’ ६० वर्षको उमेरमा पनि उनले व्यवसायप्रति देखाएको लगाव र परिश्रमलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । उनको प्रेरणाबाट सो क्षेत्रमा अन्य व्यवसायीलले पनि खाजा घर सञ्चालनमा ल्याएका छन् । ती खाजाघरले पनि मौलिक ढङ्गबाट व्यवसाय प्रवद्र्धन गरिरहेका छन् ।
‘हामीले सुरुमा खाजा घर सञ्चालन गर्दा यहाँ यतिधेरै घर पनि बनेका थिएनन्, अहिले खाजा घर पनि थपिएका छन्, यस क्षेत्रको व्यवसाय विस्तार हुँदै गएको छ’, भण्डारीले भने ।






About Us
प्रतिक्रिया